ई–आर्थिक, काठमाडौं । बुधबारको बिहानी निकै मनमोहक थियो । सफा र खुला आकासमा सूर्यको सुनौला किरणले अन्य ठाउँजस्तै भक्तपुरको मनहरा फाँट पनि रापिलो बनाउँदै थियो । घडीले बिहानको ७.४५ मात्र बजाएको थियो । मनहरा फाँटबासी बिहानको नित्य कर्म सकेर चियाको चुस्की लगाउँदै थिए । एक्कासी भयंकर ठूलो आवाज आयो । भुकम्प आएजस्तो गरी जमिन हल्लियो ।
मनहरा फाँटबासी कपिलदेव घिमिरेको होसहवासै उड्यो । के भयो भन्दै त्यहाँका स्थानीय घर बाहिर निस्किए । घिमिरे पनि बाहिरिए । उनी पूर्बसन्चार मन्त्री गोकुल बाँस्कोटाका नजिकका छिमेकी हुन । तत्कालै थाहा भयो गोकुल बांस्कोटाको घरमा बम बिस्फोट भएको रहेछ । उपस्थित सबैले क्षतिबारे बुझ्न थाले । छिमेकी घिमिरेको त चार तलामाथिको घरको ढोका नै उप्किएछ । त्यति मात्र कहाँ हो र, घरका सिसा पनि बमले फुटेछ भने घरको प्लास्टर गरेको पिल्लर चर्किएछ ।
घिमिरेको घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्षतिग्रस्त भएछ । वरिपरि अरुतिर पनि चर्किएको र क्षति भएको देखियो । घटनाले सबैलाई स्तब्ध बनायो । उनीहरुले सबै आफ्नो पौरख र पाखुरीमा बाँचेका मानिस हुन । कोही, कतैबाट कारबाहीको भागिदार बन्नु पर्ने उनीहरुले केही पनि बिगार गरेका थिएनन् । तर बर्षौदेखिको मेहनत र परिश्रमले बनाएको घर बमको निशानामा प¥यो । हजारौंको क्षति सहन बाध्य हुनुप¥यो ।
त्यहाँका स्थानीयबासीले यसको समीक्षा गरे । किन हामीले यस्तो क्षति ब्यहोर्नुप¥यो ? उनीहरुले निस्कर्ष पनि निकाले कि यसको कारण गोकुल बाँस्कोटा नै हुन । उनको छिमेकी हुनु नै हाम्रो दुर्भाग्य भयो । नाम नबताउने सर्तमा एक छिमेकीले भने ‘नखाएको बिष लाग्दैन भन्थे, हामीलाई लाग्यो । उनले (गोकुलले) राज्यलाई कति क्षति पुगाए, कति कमाए ? उनै जानुन । सजायको भागीदार भने हामी पनि हुनुप¥यो ।’ अर्का स्थानीयका अनुसार भ्रष्टाचारको आरोप लागेका ब्यक्तिको छिमेकी हुनु भनेको आफूलाई पनि असुरक्षित बनाउनु रहेछ । उनले भ्रस्टाचारको आरोपित ब्यक्ति जो कोही भए पनि छेउछाउ नबसिदिन आग्रह गरे । ‘त्यस्ताले सकभर आफैले समाज छाडेको राम्रो, नभए छिमेकीले निकाल्न दबाब सिर्जना गर्नु पर्ने दिन आयो अब ।’ गोकुलका अर्का छिमेकी पनि नाम नबताउने सर्तमा भन्छन् ‘राज्यको सार्बजनिक पदमा बसेकाले त झन यसबारेमा सोच्नै पर्ने भयो ।’
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा शक्तिशाली बम विष्फोट भएपछि मनहरा फाँटबासीमा अहिले बेचैन बढेको छ । फेरि केही होलाको भन्ने त्रासमा छन् उनीहरु । बम विष्फोटका कारण बाँस्कोटाको घरको पर्खाल र रेलिङ भत्किएको छ । रिमोट कन्ट्रोलबाट शक्तिशाली प्रेसर कुकर बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । बम बिस्फोटको जिम्मा नेकपा बिप्लब समूहले लिएको छ ।
बम विष्फोटको समयमा पूर्वसञ्चारमन्त्री बास्कोटा सो घरमा थिएनन् । उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् । उनी मन्त्री बनेदेखि नै ओली निवासमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिएका थिए । यो नेपालमै ठूलो नीतिगत भ्रष्टाचारको रुपमा हेरिएको छ । यही भ्रष्टाचार प्रकरणका कारण बम बिस्फोट गराएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
ठूलो कमिसनको डिल गरेका गोकुलको घरमा बिस्फोट भएपछि यसको असर सबैतिर देखिएको छ । भ्रष्टाचारको आरोप लागेका अन्य ब्यक्तिका छिमेकीहरु पनि यस घटनाले निकै त्रस्त रहेको बताइएको छ ।