ई–आर्थिक, काठमाडौ । कोरोना भाइरसको त्रास फैलँदै गएपछि यही फागुन १८ गते सरकारले नेपाल भ्रमण बर्ष २०२० स्थगित गर्ने निर्णय ग¥यो । जनवरी १ देखि सुरु भएको भ्रमण बर्षलाई केही दिनभित्रै औपचारिक रुपमा नै स्थगित गर्ने सरकारको तयारी छ । कोरोनाभाइरसका कारण समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि सरकार भ्रमण वर्ष स्थगित गरी नयाँ रणनीति तय गर्न लागेको बताइएको छ । यस बर्ष २० लाख पर्यटक भित्र्याउने र अर्थतन्त्रमा अहिले पर्यटन क्षेत्रले गरिरहेको तीन प्रतिशतको योगदानलाई बढाउने महत्वाकांक्षी लक्ष्य राखेर घोषणा गरिएको भ्रमण वर्षको औपचारिक स्थगनले यो क्षेत्र झनै थला पर्ने अनुमान गरिएको छ ।
०७६ साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएर सपथ लिदा योगेश भट्टराईले पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको सबभन्दा बलियो खम्बाको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाएका थिए । पर्यटन बिकासको अथाह संभाबना भएको हाम्रो मुलुकको बिभागीय मन्त्री भएका भट्टराईले यसको लागि दिनरात नभनी योजना पनि बनाए । मन्त्री बनेको एक महिना पनि नबित्दै भदौ ९ गते उनले एक बर्षे कार्ययोजना पनि सार्बजनिक गरे ।
प्रमुख प्राथमिकताका कार्यक्रमहरु ०७६ नाम दिएर सार्बजनिक गरिएको सो कार्ययोजनामा १४१ बुदामा बिभिन्न योजना समेटिएको थियो । बर्ष दिने कार्ययोजना बनाएर त्यसलाई कार्यान्वयनम जुटेका भट्टराईमा निकै जोश, उत्साह र ईच्छाशक्ति देखिन्थ्यो । समकालीन राजनीतिमा एउटा पार्टी मात्र नभई सिंगो मुलुकले नै धेरै आशा र बिश्वास गरेका नेतामध्येका एक हुन, मन्त्री भट्टराई । यस्ता आशा लाग्दा नेता मन्त्री हुदा आम जनताले प्रतिफलको अपेक्षा गर्ने नै भए । एक महिना नबित्दै एक बर्षभित्र गर्ने कामहरुको ब्यबस्थित फेहरिस्ता ल्याएपछि त त्यो अपेक्षा झन उचो भयो ।
गैरजनमुखी कर्मचारी प्रशासन, प्रधानमन्त्रीको तल्लो स्तरको हस्तक्षेप र पार्टीभित्रको गुटबन्दीले सरकारको कामको स्वामित्व नलिने नेता, कार्यकर्ताको प्रबृतिका बिच उनी आफ्नो लक्ष्यमा लम्किरहे । निकै महत्वाकाँक्षा पालेर घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ उनी मन्त्री हुदा मुखैमा आइसकेको थियो । भ्रमण बर्ष उनको लागि परीक्षा पनि थियो । यसको सफलता र असफलताले उनी राजनीतिक जीबन पनि तलबितल हुने थियो । त्यसैले भ्रमण बर्षको ब्यबस्थापनमा अहोरात्र खटे । फलस्वरुप सरकारले १ जनवरी (१६ पुस) मा भव्य समारोह गरेर ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ गर्न सक्यो ।
भ्रमण बर्षको शभारम्भ गरेर प्रचार प्रसार के हुन थालेको थियो, छिमेकी मुलुक चीनको बुहानबाट कोरोना भाईरस फेलियो । कोभिड–१९ नाम दिइएको यस भाइरस बैशाख महिनामा फैलिएको डँढेलो जस्तो गरी फैलियो । यो भ्रमण बर्षमा कोरोना संक्रमणको त्रासले गम्भीर असर पुग्यो । कतिसम्म भने ठमेलमा पर्यटक लक्षित सामग्री बिक्री गर्ने कैयौं पसल र बारहरू बन्द भइसकेको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।
होटल संघ नेपाल (हान) का कार्यकारी सदस्य तथा सांग्रिला होटलका कार्यकारी प्रमुख प्रवीण पाण्डेका अनुसार, कोरोनाको त्रासका कारण पर्यटक घटेकाले आगामी अप्रिलसम्मका लागि गरिएको बुकिङ धमाधम रद्द भइरहेको छ । प्रमुख पर्यटकीय स्थल ठमेलमा पर्यटक नहुँदा होटल, रेस्टुरेन्ट रित्ता भइरहेका छन् । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का पूर्व अध्यक्ष सीएन पाण्डेका अनुसार अहिले चिनियाँ पर्यटक मात्र नभएर तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा चिन्ताजनकरुपले घटिरहेको छ । उनका अनुसार, कोरोना चीनबाट फैलिएर कोरिया, इरान लगायतका देशमा समेत पुगेकाले तेस्रो मुलुकका पर्यटक समेत त्रस्त भएर बुकिङ रद्द गरिरहेका छन् ।
कोरोनाको संक्रमण फैलँदै गएपछि सरकारले १९ फागुनमा अति प्रभावित चीन, जापान, दक्षिण कोरिया, इरान र इटालीबाट आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ नदिने निर्णय गर्नुप¥यो । सर्वोच्च अदालतले त्यही दिन ती पाँच देशबाट आउने अन्तर्राष्ट्रिय वायुसेवाको सीधा र ट्रान्जिट उडान पनि रोक्न सरकारलाई आदेश दियो ।
विश्वभर महामारीका रुपमा कोरोना भाइरसको फैलिरहँदा विदेशी पर्यटकहरु नेपाल आउन छोडेका छन् । होटल व्यवसायी संघका महासचिव साजन शाक्यका अनुसार, पोखरा चितवन लगायतका स्थानमा पर्यटकको संख्या न्यून छ भने काठमाडौं २÷४ वटा फाएभ स्टारमा ३० प्रतिशतसम्म पर्यटकहरु छन् । शाक्यका अनुसार ९९ प्रतिशत बुकिङ नै रद्ध भइसकेको छ । मे र अर्पिल ट्रेकिङ सिजन भएपनि कोरोना भाइरसका कारण ट्रेकिङ सबै रद्ध भएको छ । बुकिङ रद्ध गर्नेहरुमा बढीजसो युरोपियन र अमेरिकन पर्यटक छन्, जो तुलनात्मकरुपले खर्चाले पर्यटक पनि हुन ।
पर्यटकको संख्या पातलिदैं गएसँगै पर्यटन व्यवसाय मात्र होइन समग्र नेपालको होटल व्यवसाय नै धरापमा पर्ने उनको भनाई छ । कोरानाबाट बढी प्रभावित भएको मुलुक चीनबाट अघिल्लो वर्षको फेबु्रअरीको तुलनामा यो वर्षको त्यही महीना नेपाल आउने पर्यटक ७६.८ प्रतिशतले घटे । अघिल्लो फेबु्रअरीमा १४ हजार १६१ चिनियाँ नेपाल आएकोमा यो पटक ३ हजार २८५ जना मात्र आए । अध्यागमन विभागले २७ फागुनदेखि कोरोना अति प्रभावित चीनसहित पाँच देशबाट आउने यात्रुलाई अनअराइभल भिसा रोकेको छ । चीन–काठमाडौं उडान गर्ने ६ वायुसेवा कम्पनीमध्ये सिचुवान, तिब्बत र हिमालय एअरलाइन्सले पूर्ण रूपमा सेवा बन्द गरिसकेका छन् । साताको ६५ उडान गर्ने गरेका चिनियाँ वायुसेवाको अहिले १० उडान मात्र हुन्छ । एअर चाइनाले सातामा एउटा, चाइना साउदर्नले दुइटा र चाइना इस्टर्नले सात वटा उडान गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सामान्य अवस्थाको तुलनामा दैनिक करीब ६ हजार यात्रु घटेका छन् ।सामान्य अवस्थामा दैनिक ११ हजार हवाई यात्रु हुने उनी बताउँछन् । यो सिजनमा आउने पर्यटकको प्रायः सबै बुकिङ रद्द भएकोले अबको तयारी आगामी सिजनको लागि गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् ।
यसरी कोरोनाले मुलुकमा सबभन्दा बढी प्रभाबित पारेको अर्थतन्त्रको संरचनामध्ये पर्यटन नै हो । यसले पर्यटन उद्योगको उत्पादकत्व क्षमतामा हस हाउनुको साथै ठूलो संख्यामा रोजगारी गुम्ने देखिएको छ । त्यस्तै मुलुक भित्रने बिदेशी मुद्रा ठूलो परिमाणमा कमी आउने छ ।
कोरोनाले पर्यटन उद्योगमा गम्भीर समस्या आएसँगै बिभागीय मन्त्री भट्टराई पनि खुम्चिएका छन् । उनका १४१ बुदे बार्षिक कार्ययोजना बेकार बनेको छ । भ्रमण बर्षमा काम गरेर सफल हुने उनको अबसर गुमेको छ । भलै, यो उनको नियन्त्रण बाहिरको कुरा हो, तर उनले आफ्नो क्षमताको प्रदर्शन भने गर्न पाएनन् । आम नागरिक उनको क्षमताको ब्याग्र पखाईमा थिए । तर उनले प्रतिफल दिन पाएनन् । यसले अब उनी पनि औषत मन्त्रीमै दर्ज हुने संभाबना छ । यो भनेको उनी असफल हुनु नै हो ।