२०८३ साउन ९ शनिबार

मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो, सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

ई आर्थिक    मंगलबार, फाल्गुन २७ २०७६
4.5K
Shares
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो, सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

ई आर्थिक, भोपाल। मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाले मङ्गलबार राजीनामा दिनुभएको छ ।

सिन्धयाको राजीनामासँगै मध्य प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् । सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गर्नुभएको छ । निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उहाँको राजीनामा आएको हो ।

“सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उहाँले राजीनामामा भन्नुभएको छ । सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । मध्य प्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।

कांग्रेसबाट राजीनामा दिनुअघि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कांग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ ।

-रासस / एनआई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij