२०८३ साउन ९ शनिबार

पन्धौं योजनाको गर्भमै कोरोना भाइरसको संक्रमण, सुरु बर्षबाटै लक्ष्यमा ठेस

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०७६
16.1K
Shares
पन्धौं योजनाको गर्भमै कोरोना भाइरसको संक्रमण, सुरु बर्षबाटै लक्ष्यमा ठेस

ई–आर्थिक, काठमाडौं । सरकारले केही दिनअघि मात्र पारित गरेको पन्ध्रौं पन्च बर्षीय योजनाका कुनै लक्ष्य पनि पुरा नहुने देखिएको छ । योजनाको ‘गर्भमै’ कोरोना भाइरसले संक्रण गरेपछि यो योजनाले निर्धारण गरेको लक्ष्य असफल हुने देखिएको हो । आयोगले अर्थतन्त्रका सूचकहरुमा प्रायः दोब्बर बढाउने महत्वाकाँक्षी लक्ष्य राखेर योजना पारित गरेको छ । आर्थिक बृद्धिदर दोहोरो अंकमा गर्ने, अहिले भएको एक हजार ४७ डलर प्रतिब्यक्ति आम्दानी बढाएर एक हजार ५९५ बनाउने, ६९ बर्ष रहेको औषत आयु ७१ बर्ष पु¥याउने, बेरोजगारीको दर ६ प्रतिशतमा सीमित गर्ने जस्ता लक्ष्य योजनाले लिएको छ ।

बिकासको आधार बर्ष भनेर घोषणा गरिएको चालु आर्थिक बर्षमै अर्थतन्त्रले निकै ठूलो संकट झेल्नु पर्ने भएपछि यसको प्रभाब समग्र योजनामा पर्ने देखिएको छ । चालु बर्ष यो योजनाको पहिलो बर्ष हो । यो बर्ष चीनबाट फैलिएको कोरोना भाइरसले मुलुकको अर्थतन्त्रका सबै संरचना प्रभाबित बनिरहेका छन् । पर्यटनमा मन्दी, ठूला आयोजनाहरुको निर्माण कार्य ठप्प, औद्योगिक उत्पादनमा भारी गिरावट, कृषिजन्य बस्तुको आयात र निर्यात पनि ठप्प छ ।

सबभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखापरिसकेको छ । मुलुकको आर्थिक बिकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यो क्षेत्रमा आएको मन्दीले बिदेशी मुद्रा आर्जनमा निकै ठूलो गिरावट आउने भएको छ । अघिल्लो बर्ष पर्यटन क्षेत्रबाट मात्रै ७३ अर्ब बिदेशी मुद्रा आर्जन भएको थियो ।

यो बर्ष ४० अर्बको हाराहारीमा पुग्ने अर्थबिद् तथा पूर्बअर्थ सचिब रामेश्वर खनाल बताउँछन् । यसले गर्दा पन्ध्रौ पन्च बर्षीय योजनाको पहिलो बर्षको लक्ष्यले नराम्रोसँग धक्का खानुपर्ने उनको भनाई छ । ‘हेर्दा मत्वाकाँक्षी लक्ष्य निर्धारण गरेजस्तो देखिए पनि पहिलो बर्षमा यस्तो धक्का नलागेको भए योजनाले लक्ष्य भेट्न सक्थ्यो ।’ उनी भन्छन् ‘अब भने चार बर्षलाई हेर्नुपर्ने भएकाले यसै भन्न सक्ने अबस्था रहेन । उनको भनाईमा आउँदो आर्थिक बर्षसमेत यसबाट प्रभाबित बन्यो भने चाहि पन्ध्रौ योजनाका सबै लक्ष्य असफल हुन्छन् । खनालको भनाई यथार्थसँग निकै नजिक देखिन्छ ।

सन् २०१९ को जनवरीमा ८१ हजार पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको जनवरीमा ६७ हजार मात्रै पर्यटक भित्रिए । फेबु्रअरीमा त्यो संख्या अझ् घटेको आकलन छ । नेपालमा भारतीयपछि सबैभन्दा बढी पर्यटक चिनियाँ नै आउँछन् । सन् २०१९ मा नेपाल आएका ११ लाख ९७ हजार पर्यटकमध्ये चिनियाँ मात्रै १४ प्रतिशत थिए ।

चिनियाँ पर्यटकको संख्या घट्दा नै नेपालको पर्यटन क्षेत्र धर्मराउन थालिसकेको बताइन्छ । कोरोना सङ्कटपछि चीनबाट नेपाल आउने सिचुआन र तिब्बत एअरलाइन्स तथा नेपालबाट चीन जाने हिमालय एअरलाइन्सको उडान पूर्ण रूपमा ठप्प भएको छ । चीनका विभिन्न शहरबाट हुने साताको ६५ वटा उडान गत सातादेखि कटौती भएर जम्मा आठ वटामा झ्रेका छन् । कोरिया र जापानका गरी करीब ६० हजार पर्यटक नेपाल आउँछन् । ती मुलुकमा पनि कोरोना सङ्कट शुरू भएकाले तत्काललाई पर्यटक आउने सम्भावना कम छ । यसले पनि अर्थतन्त्रमा ठूलो नोक्सानी गरेको छ ।

आधार पत्र तयार गर्दा आन्तरिक र बाह्य परिस्थिति समग्र रुपमा उत्साहित हुने खालको थियो । मुलुकको अर्थतन्त्रमा यति ठूलो क्षति हुने वा दुर्घटना हुने खालको कुनै संकेत देखा परेको थिएन । त्यसैले आर्थिक बृद्धिदर १० प्रतिशतभन्दा बढीको लक्ष्य राखियो । अहिले ९.६ प्रतिशत बनाइएको छ ।

आधार पत्र निर्माण गर्दा र पारित गर्दाको अबस्थामा ठूलो फेर बदल आएको छ । अर्थतन्त्रमा निकै ठूलो गढबढी भइरहेको छ र यो बढ्ने क्रममा छ । यस्तो अबस्थामा आयोगले कुनै बिचार नगरी लक्ष्य राखेको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘गर्भमा आमालाई कुनै खतरनाक रोगले संक्रमण ग¥यो भने यसले बच्चालाई असर गर्छ भन्ने नसोचेको देख्दा अचम्म लाग्छ ।’ उनी भन्छन् ‘यसले समग्र अर्थतन्त्रको गतिलाई समातेको छ ।

जसको असर पन्च बर्षीय योजनामा परिहाल्छ ।’ उनी यो असर अर्को बर्षसम्म पर्ने दाबी गर्छन । अर्का अर्थशास्त्री डा. गोबिन्दबहादुर थापा पनि अहिलेको अबस्था र सरकारको तालले पन्ध्रौ पन्च बर्षिय योजनाको लक्ष्य कुनै हालतमा पुरा नहुने बताउँछन् । ०७२ सालको भुकम्पले मुलुकमा पर्यटनको संख्या र बिदेशी मुद्रा आर्जनमा ३० प्रतिशतले गिरावट आएको स्मरण गर्दै उनले यो बर्ष कोरोनाको प्रभाब त्यो भन्दा बढी देखिने बताए । भुकम्पले पर्यटनमा असर गरेको थियो भने कोरोनाले सबै संरचनामा असर गरिरहेको उनको भनाई छ ।

अर्थशास्त्री थापा यो बर्षको बृद्धिदर ५ प्रतिशत नघाग्ने देखिएकाले योजनाको पहिलो बर्षको धक्काले अरु चार बर्षसम्म शिथिल हुने बताउँछन् । सरकारको अहिलेको खर्च क्षमता, बढेको नीतिगत भ्रष्टाचार र क्रोनी क्यापिटालिज्मले पनि यो पन्च बर्षीय योजनाको लक्ष्य पुरा नहुने देखिएको बताउँछन् । अहिले आर्थिक बर्षको ६ महिनासम्ममा पुँजीगत खर्च २० प्रतिशत नाघेको छैन भने संघदेखि स्थानीय तहसम्म नीतिगत भ्रष्टाचार संस्थागत भइरहेको छ ।

कोरोना भाइरसको त्रासदीको सीधा असर मुलुकको पूर्बाधार निर्माणमा पनि उत्तिकै देखिएके छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेका नेपालका कैयौं जलविद्युत् आयोजना र विमानस्थलमा पर्दै कतिपय परियोजनाको काम रोकिएका वा सुस्त भएका छन् । कोरोना संक्रमणको असर चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा विमानस्थलमा पनि परेको छ । आगामी मार्च अन्तिमसम्ममा सक्ने लक्ष्य राखिएको विमानस्थलको काम चीनबाट प्राविधिक तथा उपकरण आउन नसकेपछि थप पछाडि धकेलिने सम्भावना छ । ढल्केबर–मुजफ्फरपुर डबल सर्किट ४०० केभी प्रसारण लाइन अन्तर्गत स्टेशन परीक्षणका लागि पनि चिनियाँ प्राविधिक आउन नपाउँदा काम रोकिएको छ । यो काम रोकिए नेपाल–भारतबीच ठूलो परिमाणको विद्युत् आयात–निर्यातमा समस्या पर्छ ।

कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङ गएको १६ माघदेखि ठप्प छ । तातोपानी नाका पनि एक महीनादेखि बन्द छ । नाका बन्द गरिनुअघि पनि चिनियाँ नयाँ वर्ष परेकाले आयात सुस्त थियो । यसले बजारमा चीनबाट आउने सामग्रीको अभाव हुन थालेको व्यवसायीहरूको दाबी छ । चीनबाट बर्षेनी रु.२ अर्बको सामान आयात हुन्छ, जसमा मुख्यतया विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, मेसिनरी औजार आदि पर्छन् । नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल आयात ठप्प हुँदा गर्मी मौसममा ती वस्तुहरूको अभाव हुने देख्छन् । यसरी पर्यटन, पूर्बाधार निर्माण, बन्द ब्यापार पुगेको नराम्रो असरले यो पन्च बर्षीय योजनाका लक्ष्य पुरा नहुने सुरुमै संकेत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij