ई–आर्थिक, काठमाडौं । धितोपत्र बजारको शेयर कारोवार मापक नेप्से परिसूचकमा आज पनि उछाल कायमै देखिएको छ । नेप्सेको कारोबार रकमले दिनहुँ नयाँ रेकर्ड बनाईरहेको छ।
आज साताको अन्तिम कारोबार दिन बिहिबार नेप्सेमा बैंकिङ समूहले नेतृत्व गरेसँगै बजार अर्को नयाँ विन्दुमा प्रवेश गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३६.०५ अंकले बढेर परिसूचक १६३२.१७ मा पुगेको छ।
यस दिन १८० कम्पनीको ३५ हजार ४६७ पटकको कारोबारमा ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँ बराबरको १० लाख ८५ हजार ५९ कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबारको तुलनामा यो २ दशमलव २६ प्रतिशतले बढेर नयाँ रेकर्ड कायम भएको हो । वुधबार नेप्सेमा ४ अर्ब १५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
यस दिन बजार खुल्ने बित्तीकै नेप्से तीव्र गतिमा ओरालो लागेको थियो। तर, तीब्र उतारचढाबका बीच अन्तत नेप्से उकालो लागेको हो। पछिल्ला केहि दिन एता नेप्सेले ‘बियर’ को बाटो छोडेर ‘बुल’ को बाटो समातेसँगै लगानीकर्ताहरुको मनोबल पनि बढेको छ। नेप्सेको यस वृद्धिलाई दैनिक कारोबार रकमले पनि साथ दिईरहेको छ। जसले गर्दा लगानीकर्ताहरुको मनोबल झनै बढेको देखिन्छ। सोही कारण बजारले दिनहुँ नयाँ उचाई लिंदै गएको हो ।