ई–आर्थिक, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ पे्रस (सुरक्षण मुद्रण केन्द्र) को खरिद प्रक्रियाका लागि स्वीस कम्पनी केबीए नोटा सिसको स्थानीय एजेन्टसँग ७० करोडभन्दा बढी कमिसन ‘डिल’ गरिरहेको अडियो सार्बजनि भएपछि मन्त्रीमा बसिरहने नैतिक आधार गुमाएर सूचना तथा सन्चार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा गरिसकेका छन् । बिभागीय मन्त्रीबाट ठूलो नीतिगत भ्रष्टाचार गर्नका लागि भइरहेको यो बार्गेनिङको अडियोले मुलुकमा भ्रष्टाचार कसरी र कहाँबाट संस्थागत हुदैछ भन्ने तथ्य सार्बजनिक भयो ।
राज्यमा माथिल्लो तहबाटै हुने गरेको नीतिगत भ्रष्टाचार नै मुलुकमा मूल समस्या रहेको कुरा ‘ओपन सेक्रेटक’ कुरा हो । यही सरकारले गरेका कतिपय नीतिगत निर्णय आम मानिसका लागि संशयकारी छन् । यद्यपि भ्रष्टाचार भरसक कानुनी प्रक्रिया मिलाएर गरिने भएकाले सबैले थाहा पाउँदैनन् । बाँस्कोटा प्रकरणमा भने प्रत्यक्ष प्रमाण मिलेको मात्र हो ।
नीतिगत रुपमा यसरी भ्रष्टाचार भइरहेको छ भन्ने बलियो प्रमाण यसले दिएको छ । यो प्रकरणमा अर्को महत्वपूर्ण तथ्य सार्बजनिक भएको छ । त्यो भनेको मन्त्रीहरु आफै दलालसँग प्रत्यक्ष कमिशनको ‘डिल’ गर्छन भन्ने हो । अहिले सिंहदरबारमा छिर्ने चिल्ला लक्जरियस कारमध्ये ९० प्रतिशत दलालकै हुने गरेको जानकारहरु बताउँछन् । चिल्ला कारमा सुटेटबुटेट ब्यक्ति सिंहदरबार छिरेभने गेटका सुरक्षाकर्मीले समेत कुन मन्त्रीको एजेन्ट आयो है भन्ने गरेको बताइन्छ । यस्ता अधिकाँश दलाल मन्त्रीसँग प्रत्यक्ष ब्यबसायिक डिल गर्न मन्त्रालय धाउने गर्छन । अहिले नेकपाको सरकार छ । कार्यकर्ताहरु कुनै काम बिशेषले मन्त्रीकहाँ भेटका लागि आउने गरेका छन् । तर अधिकांश कार्यकर्ताहरुलाई मन्त्रीले समय दिदैनन् ।
‘भित्र कोही हुनुहुन्छ’ भन्दै सचिबालयले घन्टौ कुराउने गर्छ । बल्ल–बल्ल भेट्ने पालो आएर भित्र छिर्दा टाईवाला सुटेटबुटेट ‘ल है मन्त्रीजी अरु फोनमा कुरा गरौला’ भन्दै निस्कने गरेको कार्यकर्ताहरु बताउँछन् । कार्यकर्ताहरुले भने यसरी एक्लै मन्त्रीलाई भेट गर्न समय दिइदैन । उनीहरुले सामुहिक रुपमा बढीमा ५ मिनेट समय तोकिन्छ । त्यसमा मन्त्रीले ध्यान दिएर पनि सुन्दैन । ‘ल भयो–भयो मैल बुझें’ भन्दै झर्किएर मन्त्रीले पठाउने गरेको अधिकांश कार्यकर्ताको अनुभब छ ।
भेट्न नै अनिच्छा देखाउने मन्त्रीले कार्यकर्ताको काम गर्ने भन्ने त नसोचे पनि हुन्छ । आफैले रातो दिन खटेर, बिपक्षीसँग भिडेर जिताएर पठाएको मन्त्री त दलालको पो हुदो रहेछ भन्दै सिंहदरबारबाट निराश भएर फर्कने नेकपाको जमात दिनहँु देख्न र भेट्न सकिन्छ । आफैलाई भोट दिएर जिताउँदै मन्त्री बनाउने बाताबरण निर्माण गरेका कार्यकर्ता भन्दा मन्त्रीका लागि दलाल कसरी नजिक भए त ? नेकपा बागमति प्रदेश कमिटिको सदस्य नाम नबताउने सर्तमा भन्छन् ‘कार्यकर्ता र जनताले भोट दिन्छन् । हाम्रा नेतालाई भोटको भन्दा नोटको महत्व बढी छ ।’ उनको भनाईले समग्र उत्तर आउँछ ।
नोट अर्थात पैसाकै लागि मन्त्रीहरु दलालसँग सम्बन्ध कायम गरेको भेटिन्छ । गोकुल बाँस्कोटाले यही नोटको मोहले गर्दा राजनीतिक र सामाजिक जीबन समाप्त बनाए । मन्त्रीलाई कति पैसा भए पुग्छ भन्ने कुनै सीमा नदेखिएको कार्यकर्ताहरु बताउँछन् । काभ्रे जिल्ला कमिटिका एक सदस्य भन्छन् ‘गोकुल दाईले खुरुक्क ७० करोड लिएको भए, यसरी फस्ने थिएनन् । उसलाई करोडले नपुगेर अर्बमा चढ्दा यस्तो नियति भोग्नुप¥यो ।’ यति ठूलो रकम के मन्त्रीले मात्र पचाउँछन् त ? नत्र त्यो कहाँसम्म पुग्छ ? निकै रहस्मय छ । मन्त्री यसरी फस्नुको पछाडिको मूल कारण आफै प्रत्यक्ष एजेन्टसँग डिल गर्नु रहेको कुरा गोकुल प्रकरणले पुष्टि गरेको छ ।
नेकपाका एक केन्द्रीय सदस्यको भनाई सुन्दा सतप्रतिशत सहमति हुन सकिन्छ । उनी भन्छन ‘ब्यबहारिक रुपमा देखिएको कुरा के हो भने नेकपा र अरु पार्टीका मन्त्रीमा ब्यबहार, शैली र प्रबृतिमा कुनै फरकपन छैन । अरु पार्टीका मन्त्रीलाई पनि यसरी पैसा चाहिन्थ्यो, अहिलेका नेकपाका मन्त्रीलाई पनि त्यसरी नै पैसा चाहिएको छ । तर फरक के मा छ भने अरु पार्टीका मन्त्री कार्यकर्तालाई मध्यस्थता गरेर काम अघि बढाउँथे । त्यसो गर्दा मन्त्रीसँग डिल गर्ने दलालको भुमिकामा कार्यकर्ता हुन्थ्यो । मुल दलाल मन्त्रीसँग यसरी डिल गर्दैनथ्यो ।
मन्त्रीले पनि प्रत्यक्ष दलालसँग डिल नगरी कार्यकर्तालाई अघि साथ्र्यो । बरु कार्यकर्तालाई पनि ब्यबस्था गरिदिन्थ्यो । कार्यकर्तासँग इमान हुन्छ । उसले नेता तथा आफ्नो मन्त्रीलाई बचाउँथ्यो । अहिले नेकपाका नेता तथा मन्त्रीलाई कार्यकर्ताका अगाडि चाहि आदर्शवान देखिनु परेको छ ।
आफूलाई निकै आदर्शवान, चरित्रवान, सिद्धान्तनिष्ठ र भ्रष्टाचारबिरोधी देखाउन ऊ कार्यकर्तासँग टाढा हुन खोज्छ । तर पैसा भने नभइ भएको छैन । कार्यकर्तालाई मध्यस्थता गराउँदा उसलाई पनि दिनुपर्छ र उसको अगाडि आदर्शवान देखिन पनि सकिदैन । त्यसैले नेकपाका मन्त्री अहिले एजेन्ट खोजी गर्छन । कोही शुद्ध दलाल हो भन्ने थाहा पाउनासाथ फोन सेभ गरेर आफै डिल गर्छन । गोकुलले यसरी नै प्रत्यक्ष दलालसँग कुरा गरेका थिए । दलाललाई न पार्टी न मन्त्री कसैको मतलब हुदैन । उसको स्वार्थ पुरा भएन भने यसरी नै आफ्नो रुप देखाउँछ । यसले एउटा तथ्य के देखायो भने हाम्रा मन्त्रीहरुले यसरी नै दलालसँग प्रत्यक्ष डिल गर्छन ।’