ई–आर्थिक, काठमाडौं । उचाईमा ६ फुट अग्ला अर्थमन्त्री डा. युवराज खतिवडा अर्थशास्त्रको बिषयमा पनि आफूलाई सबैभन्दा उचो ठान्थे । आफूजतिको अर्थशास्त्र बुझ्ने मुलुकमा सितिमिति मान्छे नै नभएको उनले दम्भ पालेका थिए । अझ पार्टीभित्र त उनी अर्थशास्त्रका बिषयमा कसैलाई गन्दैनथे । त्यसैले दुइटा बजेट बनाउँदा पार्टीभित्र उनले कसैलाई सोध्ने औचित्य नै ठानेनन् ।
पार्टीभित्र अर्थमन्त्री भएर सफल भएका आधा दर्जन नेता थिए । तिनलाई पनि उनले आफ्नो अगाडि लिलिपुट नै ठाने । पार्टीका अर्थमन्त्रीको यस्तो रबैया नेताहरुले पचाउन सकेनन् र नेत्तृत्वमा ‘कम्प्लेन’ पठाए । नेत्तृत्वले साथीहरुको यस्तो गुनासो छ भनेर सुनाएपछि उनले आफू बजेट निर्माणको हतारोमा रहेको र नबुझ्नेहरुसँग बसेर के ‘टाइम पास’ गर्नु भनेर जबाफ फर्काए । समय बलवान छ भनेर त्यतिकै भनेको होइन रहेछ ।
बितेका दुई बर्षले डा. खतिवडाले बिज्ञता सतहमा छताछुल्ल पारिदियो । अत्यन्त अनुकुल परिस्थितिमा एकल बहुमतका अर्थमन्त्री बन्ने सौभाग्य पाएका अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनु त धेरै परको कुरा बजेट खर्चमा पनि सबभन्दा निकम्मा साबित भए । यतिसम्मकी अर्धबार्षिकीमै लक्ष्यलाई संशोधन गर्न बाध्य भए । यो लोकलाजबाट बच्ने उपायको खोजी थियो । तर यसलाई दुई पूर्बअर्थमन्त्रीहरुले भने अर्थमन्त्री खतिवडाको असक्षमताको स्वघोषणा हो ।
आज बुधबार बसेको संसदको अर्थ समितिको बैठकमा दुई पूर्बअर्थमन्त्री डा.बाबुराम भट्टराई र सुरेन्द्र पाण्डेले अर्थमन्त्री खतिवडाको यस कदमको कडा आलोचना गरे । उनीहरुले बलियो सरकारका कमजोर अर्थमन्त्रीका कारण मुलुकको अर्थतन्त्र सुधार हुन नसकेको आरोप लगाए । उनीहरुको बिचारमा अर्थमन्त्रीको पुरानै कार्यशैलीका कारण आर्थिक समृद्धिको अबसर गुम्दै गएको धारणा राखे । ‘उहाँले आउट अफ बक्स’ गएर सोच्न सोच्नुपर्ने हो । तर यस्तो भइरहको छैन ।’ पुर्बअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने । चालु आबको ६ महिना वितिसक्दा पनि बजेटको २७ प्रतिशत मात्र खर्च हुनुमा मुख्य कमजोरी अर्थमन्त्रीमा रहेको संकेत गरे । ‘चालु बजेटको ३२ प्रतिशत र पुँजीगतको १५ प्रतिशत मात्र खर्च भएको छ । यो लाजमर्दो तस्बीर हो’ उनले भने ।
बजेट खर्च गर्न नसकिने भएपछि अर्थमन्त्री खतिवडाले लक्ष्य संशोधन गर्दै १० प्रतिशत घटाएका छन् । अब बजेट १३ अर्वमा सीमित भएको छ । यो अत्यन्तै अनुकुलको अबस्थामा बजेटको लक्ष्य घटाउनु भनेको आफू असक्षम रहेको घोषणा भएको पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री भट्टराईले बताए । ‘अर्थमन्त्री आफैले आफ्नो क्षमतामा प्रश्न उठाएका छन् । आर्थिक अबस्था के भएको होला’ उनले भने । पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री भट्टराईले दुईतिहाइ सहितको इतिहासकै शक्तिशाली सरकारले पनि बजेट खर्च गर्न नसक्न लज्जास्पद भएको पनि बताए ।
‘विकास खर्च गर्न सकिएन भनेर प्रत्येक वर्ष भन्छौं, यसको पछाडिका कारण खोजौं, कहाँनेर समस्या छ त्यसलाई समाधान गरौं ।’ अर्थमन्त्रीले आफूले गल्ती कहाँनेर गरिरहेको छु भन्ने जान्दाजान्दै पनि सुध्रिन नखोजेको आरोप समेत उनले लगाए । भट्टराईले कतिपय आयोजनाहरु सम्बन्धित क्षेत्रका सांसदहरुले समेत जानकारी नपाएइकनै बजेट परेको भन्दै आफ्नो क्षेत्रमा गएको ६ वटा बाटोको आयोजनामध्ये पाँचवटा आयोजना सो क्षेत्रका सांसदलाईसमेत जानकारी नभएको बताए ।
पूर्व अर्थमन्त्री पाण्डेले एक चौथाई बजेट पनि खर्च गर्न नसक्नु लज्जास्पद भएको बताए । ‘अर्थमन्त्रीले मन्त्रालय सम्हालदा देशको अर्थततन्त्र डुब्नै लागेको जसरी श्वेतपत्र प्रस्तुत गरेका थिए । उनी मन्त्री भएको दुईवर्ष वितिसक्दा पनि गैरबजेटरी खर्च उस्तै हुनुलाई कसरी हेर्ने ?’ अर्थमन्त्री गर्दै पाण्डेले प्रश्न गरे ।