२०८३ साउन ९ शनिबार

सरकार र मुस्लिमबिच सहमति, सप्तरीमा हुने धार्मिकसभाको प्रतिबन्ध हटाइयो

ई आर्थिक    शुक्रबार, फाल्गुन २ २०७६
5.4K
Shares
सरकार र मुस्लिमबिच सहमति, सप्तरीमा हुने धार्मिकसभाको प्रतिबन्ध हटाइयो

ई–आर्थिक, काठमाडौं । सरकार र मुस्लिम समुदायबिच समझदारी भएपछि सप्तरीको बोदे बर्साइन नगरपालिकामा आयोजना गरिएको मुस्लिम धार्मिकसभा हुने भएको छ । भोली फागुन ३ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको यो धार्मिक सभामा धेरै देशका मुस्लिमहरुको सहभागिता रहने देखिएपछि सरकारले कार्यक्रममा रोक लगाएको थियो ।सबै तयारी पूरा भइसकेपछि गृहमन्त्रालयले कार्यक्रम रोक्न जिल्ला प्रशासनमार्फत आयोजकलाई भनेको थियो ।

कार्यक्रममा सहभागी हुन नेपालको सप्तरीमा बिभिन्न मुलुकका मुस्लिम नेताहरु उपस्थित भएका थिए । नेपालबाहेक, भारत, पाकिस्तान, अफगानस्थान, बंगलादेश र मध्यपूर्बी मुलुकबाटसमेत मुस्लिम नेताहरु त्यहाँ आएको स्रोतले जानकारी दिएको छ । आयोजकहरुले सुरुमा नेपाल र भारतका मात्र मुस्लिमहरुको भेला हुने सरकारलाई जानकारी गराएर कार्यक्रमको स्वीकृति लिएको थियो । तर थुप्रै देशबाट प्रतिनिधित्व हुने सूचना पाएपछि गृह मन्त्रालयले धार्मिकसभा रोक्न आदेश दिएको थियो ।

सरकारको यस्तो आदेशले कार्यक्रम अन्योल भएको भन्दै आयोजकहरुले चित्त दुखाएका थिए । विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता लागि नेपाल आएको भन्ने सूचना आएपछि कार्यक्रम नगर्न भनेको थियो । मुस्लिम नेताहरुले यसबारेमा प्रधानमन्त्री र गृहमन्त्रीसँग सल्लाह गरेका थिए । यसबाट मध्यमार्गी उपाय अपनाइएको छ । नेपाल र भारतबाहेकका मुस्लिमलाई आयोजकले फिर्ता गर्ने र कार्यक्रम सन्चालन गर्न सरकारले अनुमति दिने सहमति भएको छ । यो सहमति अनुसार धार्मिकसभा गर्न अनुमति दिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले पुष्टि गरे ।

प्रमुख जिल्ला अधिकारी खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली कार्यक्रममा सहभागी गराइने सहमति गरेको जानकारी दिए । सुरक्षा संबेदनशीलताका कारण ठूलो संख्यामा त्यहाँ सुरक्षाकर्मीको उपस्थिति गराइएको छ ।

सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा (इज्तेमा स्थल) मा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ । विशिष्ट अतिथिहरूलाई बस्न समेत केही थप पण्डालको निर्माण गरिएको छ । कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवतजावतका लागि अस्थायी सडकको निर्माण कार्यसमेत पूरा भइसकेको छ । भीडभाडको व्यवस्थापन, सुरक्षा व्यवस्था, खानेपानी तथा सरसफाइको समस्या, खानपीन तथा आवासीय समस्या, सम्भाव्य आगलागी, चोरी, स्वास्थ्य शिविर, नजिकको बोर्डरमा प्रवेश सम्बन्धी तयारी गरिसकिएको छ । कार्यक्रमका लागि करिब २ करोड खर्च भइसकेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij