ई–आर्थिक, काठमाडौं । गएको २१ साँझ बालुवाटार रंगीन बन्यो । जनतालाई उठिबास गराएर असुलेको करबाट निर्माण गरिएको राज्य कोषको लाखौं पैसाले बालुवाटार त्यस साँझ संगीमा झुम्यो । आफ्नो गुटको प्रबद्र्धक संस्थालाई संगित साँझको आयोजना गर्न लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सयौं आफ्ना भित्रियालाई बालुवाटार निम्त्याए ।
महंगा खानपिनका परिकारहरु झिकाइयो र भोज गरियो । अनि सारंगी, तबेला, बासुरीलगायतका बाद्यबादनबाट रंगीन साँझ सुरुवात गरियो । प्रधानमन्त्री ओलीले हातमा बासुरी लिए । कार्यकारी अध्यक्ष प्रचण्डलाई देखाउन साथमा पूर्बप्रधानमन्त्री तथा बरिष्ठ नेताहरु माधब नेपाल र झलनाथ खनाललाई दायाँ बायाँ राखेर उनीहरुको हातमा सारंगी थमाइयो । रंगीन साँझलाई थप रमाइलो बनाउन सयौं भित्रियालाई बोलाइएकै थियो । त्यसपछि सुरु भयो, संगीत साँझ । प्रधानमन्त्रीले बासुरी बजाए, बरिष्ठ नेताद्वले सारंगी । बासुरी र सारंगीको धुन त बाहिर आयो, तर तालसुर बरालिएर आयो । अर्थात बेसुरा पाराले बासुरी र सारंगी बज्यो । बाद्यबादनको बेसुरा त्यस्तै थियो, जस्तो कि अहिले राज्य सन्चालन भइरहेको छ ।
प्रधानमन्त्रीले बालुवाटारमा बसेर मज्जाले बासुरी बजाएको सार्बजनिक भएपछि यसले चर्चाको स्थान पाउने नै भयो । के अहिले देशमा यसरी नै खुसी मनाउने अबस्था छ ? गरिब किसान, मजदुर, सुकुम्बासी, निमुखा, दुर्गम बस्तीका जनताका मुहार पनि यसरी नै खुसी छ ? सर्बसाधारणलाई पनि त्यसरी नै खुसीयाली मनाउने सक्ने गरी सरकारले काम गरिरहेको छ ? कि मुलुकमा शासकहरुकै खुसीमा गरिबहरु, निमुखाहरु पनि खुसी हुनुपर्ने हो ? यस्ता अनगिन्ती प्रश्नहरु बालुवाटार संगीत साँझले उठाइ दिएको छ ।
संगीत साँझको फोटो सार्वजनिक भएसँगै धेरैलाई ईतिहासको सम्झना गरायो । १९ जुलाई १९६४ का दिन रोमको व्यापारिक क्षेत्रबाट सुरु भएको आगोले पूरै रोम नष्ट गर्दै थियो । रोमका १४ मध्ये १० जिल्लामा ६ दिनसम्म आगो दन्किरह्यो । तीन जिल्ला पूर्णरुपमा सखाप भयो । बाँकीमा पनि ठुलो क्षति भयो । तत्कालीन रोमका शासक निरो थिए । केही इतिहासकारले निरोले नशामा लठिएर दुई जनालाई आगो लगाउन लगाएको उल्लेख गरेका छन् । जसले आगो लगाए पनि रोम सहर जलिरहेको थियो । त्यो भयानक र दर्दनाक बिपत्तिलाई निरोले दरबारको झ्यालमा बसेर बासुरी बजाउँदै हेर्थे र आनन्द लिन्थे । ईतिहासको यो कठोर दृष्टान्तको झल्को बालुवाटारले दियो भन्नेहरु अहिले जताततै भेटिन थालेका छन् ।
प्रधानमन्त्रीको हातमा बासुरी रहिरहेको बेला मुलुकको अबस्था चाहि कस्तो थियो त ? यतातिर बिचरण गरौं । सर्बसाधारणको दैनिक जीबनसँग प्रत्यक्ष सरोकार राख्ने बजारबाट सुरु गरौं । एक हप्तामा कुखुराको मूल्य करिब सतप्रतिशतले बढ्यो । २५० रुपैयाँ प्रतिकेजी रहेको मासु एकाएक ४५० रुपैयाँ बनाइयो । यसको एउटै कारण थियो, ब्यबसायीहरुको मासुमा गरेको कार्टेलिङ । कार्टेलिङको नाइको थियो, नेपाल ह्याचरी उद्योग संघ ।
संघको योजना अनुसार मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो । मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे । यो तत्कालै सन्चारमाध्यमहरुले सार्बजनिक गरे ।
सरकारलाई यतातिर सोच्ने फुर्सदै थिएन । कारण संगीत साँझको तयारीमा ब्यस्तता थियो भन्ने बु्झ्न सकिन्छ । त्यसैगरी अण्डामा पनि करिब ५० प्रतिशतले मुल्य बढाइयो । अहिले चल्ला र दानामा पनि चर्को मूल्य असुल्न थालिएको छ । आएको पाइएको छ । उनीहरूले कार्टेलिङ गरेर सातामै चल्लाको मूल्य ३५ रुपैयाँसम्म बढाएका छन् । माघ १० गतेसम्म चल्लाको मूल्य ४० रुपैया रहेकोमा एक सातामा ७० रुपैयाँ भन्दाा बढी पु¥याइएको छ । लसुनको मूल्यले ईतिहासकै रेकर्ड राखेको छ । लसुन आयात गर्ने मुलुक चीनमा कोरोना भाइरसका कारण लसुन आउन नसकेको बाहानामा लुसुनको मूल्य २ सय प्रतिशतभन्दा बढी बनाइयो । लसुन अघि प्याजको मूल्य यही अनुपातमा बढाईको थियो । प्याजको मूल्य बढाउनुको कारणमा भारतबाट प्याज आयात नहुनुलाई बताइयो ।
प्याज र लसुनको आयात नहुदा मुल्य बढ्ने कुरा ठीकै रुपमा लिऔं । तर गम्भीर प्रश्न के हो भने आज आयात बन्द हुदा भोली नै सतप्रतिशत मूल्य बढाउन मिल्छ ? ब्यापारीहरुले एउटै मूल्य तिरेर ल्याएको लसुन अघिल्लो दिन २२० रुपैयाँ किलो र भोलीपल्ट ६६० रुपैयाँ किलो बेच्नु सरासर कालोबजारी होइन ? संसारमै उपभोग्य बस्तुको मूल्य बढाउनु पर्दा बजारमा रहेको सस्तो मुल्यको स्टक समाप्त हुनु पर्ने नियम छ । यहाँ पनि त्यही हो । तर कालोबजारीले रातारात २ सय प्रतिशत मूल्य बढाएर उपभोक्तालाई चुस्नसमेत चुसे ।
सरकार कहिकतै देखिएन । कालोबजारीले प्याज, लसुन, कुखुराको मासु, अण्डा, चल्लाबाट अबौं असुले । सर्बसाधारण महंगीको चपेटामा नराम्रोसँग फसे । तर सरकार छ भन्ने सामान्य महसुस पनि भएन । यसअघि तरकारीको मूल्य यस्तै थियो, अहिले पनि कायमै छ । तरकारीको सतप्रतिशत मूल्य बढे पनि त्यसको खोजबिन नै भएन ।
बजार अनुगमनको लागि सर्बसाधरणले हारगुहार त गरे तर, त्यसको सुनुवार गर्ने कुनै निकाय भएन । ग्याँसमा त्यस्तै छ । अहिले पनि आम उपभोक्ताले सही तौल भएको ग्याँस पाउँदैनन् । पानीको अबस्था त्यस्तै छ । आकासको भरेको पानी उपभोक्तालाई जारमा हालेर बेचिएको छ । कम तौलको ग्याँस बेचिएको र अलिकति पनि मापदण्ड नपु¥याई पानी बेचेको सरकारी निकायलाई राम्रोसँग थाहा छ, तर त्यसको सरकारी अधिकारीहरुले निजी फाइदा उठाइरहेका छन्, सर्बसाधारणको मर्म बुझिदिने कोही छैनन् ।