काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ सय २५ पुगेको छ । पछिल्लो समय चीनमा ब्यापक फैलिएको यो भाइरसबाट चीन बाहिर फिलिपिन्समा समेत एक जनाको ज्यान गइसकेको छ ।
कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ सय ६१ जनाको ज्यान गएको थियो । यो संख्या बढेर सोमबार मात्रै चीनमा ६४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छ । उक्त भाईरसबाट हालसम्म २० हजार चार सय ३८ जना संक्रमित भएका छन् ।
चीनमा हालसम्म ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको चाइना डेलीले उल्लेख गरेको छ । मंगलबार बिहानसम्म हङकङमा १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ ।
चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट करिब ५० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले तयारी गरेको छ ।
बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेकोमा एक सय ८० जना नेपालीले फारम भरेका थिए ।
सरकारले ती नेपालीलाई काठमाडौँ ल्याउन २ विमान तयारी अवस्थामा राखेको छ । चीनबाट फर्काइएपछि उनीहरुलाई कम्तिमा १५ दिन विशेष निगरानी (क्वारेन्टाइन) मा राख्नुपर्ने भएकाले सम्भावित स्थानहरुको खोजी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सचेत हुन सबैलाई आग्रह समेत गरेको छ ।