ई–आर्थिक, काठमाडौं । करिब चार दर्जन साँसदहरुको समर्थनमा नेपालमा गाँजा तथा भाङलाई लागुऔषधको श्रेणीबाट हटाउन माग गर्दै मकवानपुरबाट प्रतिनिधिसभामा निर्बाचित नेकपाका सांसद विरोध खतिवडा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि त्यो खबर मुलुकभर सनसनीपूर्ण भयो । गाँजा भन्ने शब्द सुन्नेबित्तिकै लागुऔषधको रुपमा बुझ्ने नेपाली समाजका लागि संसदमा दर्ता भएको यो प्रस्ताब अनपेक्षित थियो । समाजमा लागूऔषध निकै ठूलो समस्याको रुपमा रहेको बेला बिधायकहरुको ठूलै समूहको समर्थनमा यो प्रस्ताब दर्ज भएपछि मुलुकमा के हुन लागेको ! भन्दै जिब्रो टोक्नेहरु पनि देखिए ।
कुनै पनि एजेण्डामा पक्ष/बिपक्ष स्वाभाबिक हुन्छ । यो प्रस्ताब दर्ज भएपछि पनि पक्ष र बिपक्षमा बहस चल्न थालेको छ । यो बहसले नेपाली समाजमा अहिले जुन स्तरमा चर्चा पायो, यसअघि त्यो कहिले पाएको थिएन । ठूलो संख्यामा बिधायकहरुको समर्थन पाउँदै कानुन निर्माणको मूल थलोमा प्रस्ताब पेश भएकाले हुन सक्छ, अहिले मुलुकभर यसले तरंग ल्याइरहेको छ ।
गाँजा खेतीको उर्बर जिल्ला मानिने मकवानपुरका सांसद खतिवडाले यो प्रस्ताब दर्ता गराएर गाँजालाई बैध बनाउन पहलकदमी लिनुको आसय के हो त ? उनी भन्छन् ‘हामीले नबुझेर र बिदेशी दबाब झेल्न नसकेर यसलाई अबैध बनाएका हौं । यो लागूऔषध होइन, यो त मुलुकको समृद्धि ल्याउने भरपर्दो स्रोत हो ।’ उनले २०३३/३४ सालतिर पश्चिमी देशहरूको दबाबमा गाँजा खेती र बिक्रीलाई गैरकानुनी बनाएको बताए । अहिले ६२ वटा मुलुकहरूले पूर्ण वा आंशिक रूपमा गाँजालाई खुला गरिसकेको अवस्थामा नेपालले पनि कानुनी मान्यता दिनुपर्ने उनको तर्क छ । किन गाँजा फुकुवा गर्नुपर्ने हो त ? यस प्रश्नमा उनी गाँजाबाट ३ सय प्रकारका औषधी बनिरहेको बताउँदै यसको प्रयोग २५ सय औषधीमा हुनसक्ने दाबी गर्छन् ।
झण्डै ५० जना सांसदहरुले हचुवाको भरमा यो प्रस्ताब टेबल गरेको ठान्नु मुर्खता हुन्छ । यसमा उनीहरुको गहिरो अध्ययन र दीर्घकालीन सोच अबश्य देखिन्छ । गाँजालाई नेपाली समाजले नकारात्मक पक्षलाई मात्र हेरेको छ । यसको सकारात्मक पाटोको बारेमा कसैले सोचेन । कसैकसैले बिगतमा कुराा त उठाए, तर ति आवाजलाई गजँडीको आवाजका रुपमा लिइयो । अहिले साँसदहरुले सदनमै प्रस्ताब गरेको कारण मात्र यो बहसमा आयो । गाँजाबारे पश्चिमा मुलुकले पहिले नै अध्ययन गरिसकेको छ । त्यसैले धेरै पश्चिमा बिकसित मुलुकमा गाँजालाई अर्थतन्त्रको हिस्सा बनाएका छन् ।
सुरुमा गाँजालाई छिःछिः दुरदुर गरेका पश्चिमा वैज्ञानिकहरूले नै पछि अनुसन्धानमार्फत गाँजामा अमृत्व हुनसक्ने संकेत गरेका छन् । मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपर्नेलगायतका विषयमा पश्चिमाहरूले गरेको अनुसन्धानसँगै यसले क्यान्सर निको पार्न र क्यान्सरबाट हुने पीडा कम गर्नेसमेत प्रमाणित भइसकेको छ ।
पूर्वीय विज्ञानका हजारौ वर्ष अघिका ग्रन्थहरूमा गाँजाका असीमित फाइदाहरू यसअघि नै लिपिबद्ध भएको पाइन्छ । विगतमा नेपाल जस्ता राष्ट्रलाई दबाब दिएर गाँजा प्रतिबन्ध लगाएको अमेरिकामै ३३ वटा प्रान्तमा गाँजाको प्रयोग वैध छ । अन्य १४ प्रान्तमा गाँजामा पाइने टीएचसीको मात्रा तोकेर अपराध नमानिने व्यवस्था छ । अमेरिकाभित्र यो वर्ष ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको गैरऔषधिजन्य गाँजाको व्यापार हुने आंकलन गरिएको छ । सन् २०१७ मा अमेरिकाको कोलोराडोमा सन् २०१७ मा डेढ अर्ब बराबरको गैरऔषधिजन्य गाँजाको व्यापार भएको तथ्यांक छ । सन् २०१८ मा अमेरिकी खाद्य तथा औषधि मन्त्रालयले गाँजालाई औषधिको सूचीमा राखेपछि यसले विश्वव्यापी अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर अनेकौं खोज र अनुसन्धान भएको छ ।
ग्रान्ड भ्यू रिसर्चले प्रकाशित गरेको एक तथ्यांकअनुसार सन् २०२५ सम्ममा गाँजाको विश्वव्यापी कारोबार एक सय ४६ दशमलव चार अर्ब अमेरिकी डलर पुग्नेछ । क्यान्सर, मानसिक असन्तुलन, लामो समयदेखिको दुखाईलगायत अन्य विविध शारीरिक र मानसिक समस्या समाधानमा गाँजाले पार्ने सकारात्मक प्रभावका कारण यसको बजार आकाशिने दाबी गरिएको हो । साथै, औषधिजन्यबाहेक रमाइलो, सौन्दर्य प्रशाधन र पेय तथा खाद्य पदार्थजस्ता वस्तु र गतिविधिमा प्रयोग हुने भएकाले पनि यसको बजार बढ्दै जाने निश्चित छ ।
विश्वका शक्तिशाली अमेरिका, क्यानडा, जर्मनीजस्ता राष्ट्रहरू गाँजाबाट हुनसक्ने असिमित आर्थिक लाभका पछाडि रणनीतिक ढंगले अघि बढेका छन् । बेलायत , चीन र जापानजस्ता राष्ट्रहरू यसबाट हुनसक्ने असिमित फाइदाबाट मुलुकको अर्थतन्त्र कायापलट गर्ने अभियानमा अनुसन्धान गरिरहेका छन् । अमेरिका र क्यानडालगायतका मुलुकले खर्बौ कमाउने देखेपछि चीन पनि अघोषित रूपमा गाँजा खेतीमा लागेको छ । भारतले गाँजाजन्य औषधिको उत्पादनमा अघि बढ्ने संकेत दिएको छ ।
रामदेव नेतृत्वको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले त हालै एक अन्तर्वार्तामा गाँजालाई अपराधको कोटिमा राख्न नहुने भन्दै आफुहरूले समेत यसमा अनुसन्धान गरिरहेको खुलासा गरेका छन् । खर्बौ रुपैयाँको नियमित आर्थिक लाभ हुने सम्भावना रहेको नेपालमा भने गाँजामाथिको प्रतिबन्ध किन भन्ने न्यायोचित जवाफसमेत भेटिएको छैन । मेरी कप्र्स नामक अमेरिकी संस्थाले सन् २००३ मा गरेको स्थलगत अध्ययन प्रतिवेदनलेसमेत गाँजा प्रतिबन्धपछि रोल्पालगायतका पहाडी क्षेत्रमा गरिबी बढेको उदेकलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
दोस्रो विश्वयुद्धताका भारतमा नेपाली चरेश अत्यन्तै उच्च गुणस्तरको मानिन्थ्यो । गाँजाको रेसाबाट लुगासमेत बनाइन्थ्यो । नेपालमा गाँजा प्रतिबन्धपछि उनीहरूको जीवनस्तर खस्कन थालेको हो । सन् १९७६ र सन् १९८० को बीचमा उनीहरू सम्पन्नताबाट गरिबीतिर झरे । स्थानीयहरूको विचारमा चरेशमाथिको प्रतिबन्ध बच्चाको मुखबाट खाना खोसेजस्तो भएको छ । चरेश प्रतिबन्धपछि उनीहरू बाध्य भएर कालापहाड जानुप¥यो’ बर्लिनमा प्रतिकिलो साढे १३ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन ।
नेपालमा अवैध भएको कारण यसको बजार मूल्यमा एकरूपता छैन । अवैध बनाइएकाले अर्बौ रुपैयाँ वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपैयाँ र चरेश दुई लाखदेखि चार लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचबिखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपतबाहेक प्रायः सबै भारत जाने गरेको छ । अवैध रूपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गीकरण गरेर प्रतिकिलो एक लाख देखि आठ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ ।