२०८३ साउन १० आइतबार

पर्यटन बोर्डको सीईओमा डा.धनन्जय रेग्मी नियुक्त

ई आर्थिक    बुधबार, माघ १५ २०७६
25.1K
Shares
पर्यटन बोर्डको सीईओमा डा.धनन्जय रेग्मी नियुक्त

ई–आर्थिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो । तीमध्ये सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो ।

निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मंसिर १८ गते विज्ञापन खुलाइएको थियो। विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए। त्यसमध्ये काशीराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनन्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो। जसमा छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत सिंह ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो । सबैलाई पछाडि पार्दै रेग्मीले उक्त पद जितेका हुन्। बोर्डको सीईओको कार्यकाल चार वर्षको हुन्छ।

को हुन् रेग्मी ?
सन् १९७५ स्याङ्जामा जन्मिएका डा. रेग्मी पर्यटन तथा वातावरण अभियन्ता हुन् । उनले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् ।

नेपालमा भने रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भूगोल समाजका अध्यक्षका रुपमा काम गरिरहेका छन्। रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।

उनको काठमाडौंमा चारतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ भने जलविद्युत आयोजनाहरु पनि सञ्चालन गर्छन् । रेग्मी हिमालय नर्थ फेस लुम्काका अध्यक्ष समेत हुन् ।

सन् २००७ देखि सोसाइटी फर इकोलोजिकल रेस्टोरेशन नेपालको अध्यक्षका रुपमा मौसम परिवर्तन र इकोलोजी रेस्टोरेशनका लागि काम गरिरहेका रेग्मी हिमालय रिसर्ज सेन्टरका अध्यक्ष हुन् ।

उनले इम्जा हिमतालको जोखिम व्यवस्थापन गर्न नेपाली सेनाको प्राविधिक सल्लाहकारको रुपमा काम गरेका थिए । इम्जा हिमताल फुट्ने जाखिम बढेपछि सरकारले हिमतालको गहिराइ घटाउन परियोजना सञ्चालन गरेको थियो । त्यसबेला रेग्मीले सो परियोजना सफल बनाएका थिए । डा.रेग्मी हिमतालबाट जलविद्युत उत्पादन गरेर तालको पानी घटाउने प्रविधिहरुमा समेत अध्ययन गरिरहेका छन् ।

आवेदन हाल्दा नै रेग्मीले आफू सीईओ बने अहिलेसम्मको अध्ययन अनुसन्धान र अनुभवलाई मुलुकको पर्यटन विकासमा प्रयोग गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij