२०८३ साउन ९ शनिबार

निकासी पैठारी संघमा सुनिलकुमार वंशलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ई आर्थिक    सोमबार, माघ १३ २०७६
3.2K
Shares
निकासी पैठारी संघमा सुनिलकुमार वंशलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ई–आर्थिक, काठमाडौं : आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै सम्पन्न ४०औं साधारणसभाबाट सुनिलकुमार वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

संघद्वारा जारी विज्ञप्ति अनुसार अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवनकुमार अग्रवाल हुनुहुन्छ ।

त्यसैगरी, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल र सुशील गुप्ता कार्यसमितिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यसमितिमा चारजना सदस्य मनोनीत हुने व्यवस्था छ । निवर्तमान अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ ।

संघको ४०औं साधारण सभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भन्सार र अन्तः शुल्कको मुद्दा सम्बोधन हुने भन्दै व्यापारमा विकृत व्यापार नगर्न आग्रह गर्नुभयो । पाम आयल भारत निकासीमा देखिएको समस्या सुल्झाउन सरकारले उच्चस्तरीय समिति गठन गरेको र चाँडै समस्या सुल्झने पनि उहाँले बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यवसायीलाई नडराउन आग्रह गर्दै सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभयो । स्वदेशी गार्मेन्टको निकासी बढाउन अमेरिकाको उच्च तहसम्म पुगेर पहल थालिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष हिमबहादुर रावलले मुलुकमा व्यवसायमैत्री वातावरण अझै बन्न नसक्दा निजीक्षेत्रको उत्साह सेलाउन थालेको बताउनुभयो ।

साधारणसभा उद्घाटन सत्रलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका सतिषकुमार मोर र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि सम्बोधन गर्नुभएको थियो । उहाँहरुले पनि अर्थतन्त्रको प्रगतिका लागि गर्नुपर्ने नीतिगत र प्रक्रियागत सुधार लगायत व्यवसायका समस्याबारे बोल्नुभएको थियो ।

साधारण सभाका अवसरमा संघका सदस्यमध्ये सबैभन्दा बढीलाई रोजगारी दिने रिलायन्स स्पिनिङ मिल्स, सबैभन्दा बढी राजस्व बुझाउने जिओ अटोमोबाइल्स प्रालि, निकासीबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने अन्नपूर्ण भेजिटेबल प्रोटक्सटस प्रालि र महिला उद्यमी जमिला जोशीलाई सम्मान गरिएको थियो ।

संघका निवर्तमान अध्यक्ष रमेश गुप्तालाई संघ र मुलुकको अर्थतन्त्रमा उहाँको योगदानको कदर गर्र्दै मरणोपरान्त सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij