२०८३ साउन ९ शनिबार

२३ वर्षमा ३४ खर्बको सुन आयात

ई आर्थिक    बुधबार, पौस २३ २०७६
6.3K
Shares
२३ वर्षमा ३४ खर्बको सुन आयात

विनय बञ्जारा, काठमाडौं : नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बराबर हो। २०५३ साउनदेखि गत कात्तिक मसान्तसम्म नेपालीले सुनमा यति ठूलो खर्च गरेका हुन्। २०६५ पछि सुन आयात ठूलो परिमाणमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यसका अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ।

माओवादी द्वन्द्वको समाधानपछि नेपाली मूलतः खाडी र मलेसियामा वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो। वैदेशिक रोजगारीको आम्दानीले बहुसंख्यक नेपालीको क्रय क्षमता बढेको र गरिबी दर तीव्रतर खुम्चिएको तथ्यांक विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले सार्वजनिक गर्दै आएका छन्। बढेको खरिद क्षमताको प्रभाव सुन बजारमा पनि परेको छ। यही कारण सुन आयात चुलिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

सरकारले सुनको आयातमा सीमा तोक्ने, बेलाबखत भन्सार दर बढाएर आयात निरुत्साहित गर्नेजस्ता काम गरे पनि पहेँलो धातुको आयातमा मुलुकले ठूलो रकम खर्चेको छ। सुन नेपालीको संस्कृतिसँग जोडिएकाले पनि यसको खपत बढी भएको नेपाल सुनचाँदी व्यवसायि महाँसंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्डमा सुनको आवस्क पर्छ’, उनी भन्छन्, ‘आयस्रोत बढ्दै गएपछि प्रतिष्ठाको प्रश्न पनि सुनमै गाँसिएको छ।’ जसले बढी सुन देखाउँछ, उही सम्पन्न मानिने ‘देखाशेखी’ बढ्न थालेकाले सुनको माग भविष्यमा अझै बढ्ने उनी बताउँछन्।

सुनलाई संसारभर नै सर्वाधिक सुरक्षित लगानीका रूपमा लिइन्छ। त्यसैकारण सुनमा लगानी बढ्नु स्वाभाविक हो। तर, नेपालमा लगानीको उपकरण मानेर सुन किन्न पाइन्न। यद्यपि, गरगहनाको प्रयोजनमै पनि सुनको खपत उच्च रहेको छ। सुनको धितोमा बैंकले ऋण दिने र तत्कालै बेच्न सकिने भएकाले सुनका गरगहना पनि धेरैका लागि लगानी विविधीकरणको पाटो रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ ऋण दिएका छन्। यस्तो ऋण लिन पनि केही धनि मानिसले अस्वाभाविक रूपमा सुन थुपार्न थालेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्। ‘केही मान्छेले धेरै सुन थुपार्ने गरका छन्। त्यस्तो प्रबृत्ती रोक्न सरकार सफल भएको छैन’, उनी भन्छन्।

सुनको बढ्दो आयातले केन्द्रीय बैंकलाई बेलाबखत अप्ठेरो पार्ने गरेको छ। ‘हामीले सुनको बजारलाई गहन विश्लेषण गर्न र त्यसै अनुरुप नीति नियम बनाउन सकेनौं भने यसले मुलुकको भुक्तानी क्षमता केही दिनमै खतम पार्नसक्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘विगतमा धेरैपटक यस्तो समस्या परिसकेको छ।’ त्यसबाहेक अनौपचारिक अर्थतन्त्र भनिने तस्करीमा पनि सुन नै सर्वाधिक प्रयोग हुने गरेको राष्ट्र बैंकको आन्तरिक प्रतिवेदनमा उल्लेख छ।

अनौपचारिक आयातले नेपालमा भित्रिएको सुनको वास्तविक आकार यो तथ्यांकभन्दा निकै बढी हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। प्रहरीले लगातार समातेको सुनको अबैध आयातको आँकडाले पनि राष्ट्र बैंकको तथ्यांकमा देखिएभन्दा निकै बढी पैसा नेपालीले सुन किन्न खर्चेको अनुमान गर्न सकिन्छ। त्यसो त, रोजगारी र भ्रमणका लागि विदेश जाने नेपालीले ल्याउने गरगहना र काँचो सुनको परिमाण पनि निकै ठूलो छ। त्यसरी आयात भएको सुनको तथ्यांक सरकारी अड्डासँग छैन। यसले सुनको खपतमा मुलुकले ज्यादै बढी रकम खर्चेको अनुमान अर्थविदको छ।

सुनको आयातमा बढी खर्च गरेको देखिनुको अर्को कारण यसको मूल्यको बढोत्तरी पनि हो। २०७३ माघ ३ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ५५ हजार २ सय तोकेको थियो। तीन वर्षपछि गत सोमबार त्यति नै सुनको मूल्य २१ हजार रुपैयाँ महँगिएर ७६ हजार रुपैयाँ पुगेको छ। मूल्य बढ्दा यसका उति नै सुन किन्न पनि बढी प्रसा तिर्नुपर्ने हुन्छ। सन् २००७ पछि अमेरिकाबाट सुरु भएको वित्तीय संकटले विश्व बजारमै सुनको भाउ बढाउन सहयोग गरेको थियो।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij