ई–आर्थिक, सिड्नी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ वेल्सका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी गराएका हुन् ।
उनले मौन जुलुसमार्फत पर्यटन वर्षकाे प्रवर्द्धन पनि गरिएको बताएका छन् । तर समाचार संस्था साउथ एसिया डट कम ले भने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अस्ट्रेलियामा आज हुने तय भएको कार्यक्रम रोकिएको जनाएको छ ।

भट्टराईसमेत सहभागी भएर आज गर्न लागिएको प्रचार कार्यक्रम अनुमति नलिइ गर्न लागिएको भन्दै त्यहाँको सरकारी निकायले रोकेको खबरमा उल्लेख छ । प्रवर्द्धनात्मक तथा व्यावसायिक लाभका लागि कार्यक्रम गर्न लागिएको भन्दै र्याली निकाल्न रोक लगाइएको खबरमा उल्लेख छ । तर मन्त्री भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणका सन्दर्भमा गलत समाचार सम्प्रेषण भएको दावी गरेका छन् ।
र्याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि भट्टराईले त्यसमा कुनै सत्यता नरहेको दावी गरेका हुन् । ‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
डढेलोका कारण अष्ट्रेलिया संकटमा परिरहेको बेला नेपाल भ्रमण वर्षको प्रचारका लागि मन्त्री भट्टराई सिड्नी पुगेपछि उनको आलोचनासमेत भएको छ ।