२०८३ साउन ९ शनिबार

दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिएपछि बनाइएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै

ई आर्थिक    शनिबार, पौस १९ २०७६
5.4K
Shares
दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिएपछि बनाइएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै

ई–आर्थिक, स्याङ्जा । दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिएर बनाइएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ । उक्त बायोग्याँस प्लान्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरेको हो ।

देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको परिसरमा निर्माण गरेको बायोग्याँस प्लान्ट नमूना बनेको हो ।

सार्वजनिक शौचालय निर्माणका लागि उपयुक्त स्थानमा जग्गा फेला नपरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कार्यालय परिसरमा सार्वजनिक शौचालय निर्माण गरी त्यहीँबाट बायोग्याँस निकालिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताए ।

प्रहरी कार्यालयको जग्गामा दुईतिर फर्काएर सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

कम्पाउण्डभित्रपट्टिको शौचालय प्रहरी तथा कार्यालयमा जाने सेवाग्राहीले र कम्पाउण्डभन्दा बाहिरपट्टि फर्किएको शौचालयमा अन्य सर्वसाधारणले प्रयोग गर्ने गरेका छन्। ‘नगरपालिकाले ३३ लाखको लगानीमा प्रहरी र सर्वसाधारणका लागि निर्माण गरेको शौचालयबाट बायोग्याँस उत्पादन हुने गरेको छ’, नगरप्रमुख क्षेत्रीले भने ।
‘नगरपालिकाको पहलमा पहिलोपटक निर्माण भएको बायोग्याँस प्लान्ट सफल भएको छ’, नगरप्रमुख क्षेत्रीले भने, ‘अब छिट्टै जिल्ला कारागार स्याङ्जामा सोही किसिमको प्लान्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको छ।’

प्रहरी कार्यालय परिसरमा निर्माण भएको बायोग्याँस प्लान्टले ७०/८० जनालाई दैनिक खाना पकाउन सहज भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij