ई–आर्थिक, काठमाडौं । आन्दोलित कर्मचारीको त्रासले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को २१ औं बार्षिकोत्सब जंगी अड्डामा हुने भएको छ । कर्मचारी मागको कुनै सुनुवाई नगरेको ब्यबस्थापनले बार्षिकोत्सब आफ्नो हलमा नगरी जंगी अड्डामा गर्ने निर्णय गरेको हो ।
क्यानले प्रत्येक बर्षको पुष १५ गते आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ । जस अनुसार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा विहान ८ बजे गर्ने कार्यक्रम तय गरेको छ ।
आक्रोसित कर्मचारीले ‘जे पनि गर्न सक्ने’ भयले कार्यक्रम हल सुरक्षित स्थानमा गर्ने निर्णय गरिएको स्रोतले बताएको छ । युरोपियन युनियन (ईयु) को योजना अनुसार बिभाजन गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई यथास्थितिमा राख्नु पर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा छन् । क्यान बिभाजनको फाइलमा हस्ताक्षर गरेर मन्त्री पद बहाली गरेका बिभागीय मन्त्री योगेश भट्टराईसँग पनि कर्मचारीहरु निकै आक्रोशित छन् । उनीमाथि हातपात हुन सक्ने भय ब्यबस्थापनमा छ ।
क्यान बिभाजन गरेर नियमनकारी र सेवाप्रदायक गरी दुई टुक्रा गरिने सरकारी बिधेयक मन्त्री परिषदमा दर्ता भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । उता आन्दोलित कर्मचारीहरुले बार्षिकोत्सब कार्यक्रमको सत्रलाई उपयोग गरेर आफ्ना कुरा राख्ने भएको छ । पहिले बहिष्कार गर्ने मनस्थितिमा रहेका कर्मचारीहरुले आफ्नो संस्थाको बार्षिकोत्सब भएकाले मञ्च उपयोग गरेर आफ्नो विरोधका आफ्ना भनाई राख्ने निर्णय भएको क्यानका आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष ज्ञानेन्द्र भूलले जानकारी दिए ।
यसैबीच कर्मचारीहरुले क्यानको बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । सिभिल एभिएसन स्पोर्ट्स क्लब अफ नेपालको आयोजनामा भएको प्रभातफेरि कार्यक्रममा सयौं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

क्यान विभाजन गर्न लागिएको विरोधमा नियमित कार्यक्रम अनुसार हिजो हस्ताक्षर अभियान सुरु गरेका छन् । उक्त अभियान आज पनि जारी राखिएको उपाध्यक्ष भूलले बताए ।