ई–आर्थिक, काठमाण्डौ । नेपाल टेलिकमले वेबसाइटबाट आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको टेलिफोन नम्बर थाहा पाउन सकिने सेवा थप गरेको छ । अहिलेसम्म कसैको फोन चाहिएमा १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था छ । यसका साथै अब कम्पनीले वेबसाइटबाट पनि फोन खोज्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
यसका लागि कम्पनीको वेबसाइटमा लगअन आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत फोन खोज्न सम्बन्धित व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।
विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट बिना झञ्झट जुनसुकै बेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको प्रबक्ता बैद्यले जानकारी दिनुभयो ।