ई–आर्थिक, काठमाडौँ । सिंगापुर, अमेरिकालगायतका प्रसिद्ध अस्पतालहरुमा उपचार गरेर पनि रोग बीसको उन्नाइस नभएपछि नेकपाका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अन्नत : रामदेबको आश्रममा पु¥याइएको छ ।
भारतको हरिद्वारस्थित रामदेवको उक्त आश्रममा केही समय उनको मानसिक र शारीरिक उपचार गरिने छ । छोरीको क्यान्सरका कारण निधन भएको एक बर्षमै एक मात्र छोरा प्रकाश दाहालको पनि निधन भएपछि उनी निकै जटिल रोगले पीडित बनेकी छिन् ।
पार्किन्सन्स जस्तो लक्षण भएको उनको रोग छोरी र छोराको निधनपछि ह्वात्तै बढेको थियो । चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिने यो एक रोग दुर्लभ शारीरिक समस्या हो । जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । प्रचण्डले यो रोगबाट पीडित सीताको उपचारको लागि बिभिन्न आलोचना सहेर सिंगापुर र अमेरिका समेत लगेका थिए । तर रोग उस्तै छ । यसपछि उनलाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको छ । यसको जानकारी उनकी छोरी गंगाले सामाजिक सञ्जालबाट गराएकी छिन् । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।
बिदेशमा उपचार गरेको आलोचना भएपछि रोगको जटिलता सार्बजनिक गर्दै प्रचण्डले सीतालाई पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग लागेको जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । खासगरी यो रोग ६० वर्ष उमेर पूरा भएका व्यक्तिहरुलाई बढी देखिने गरेको चिकित्सकहरु बताउँछन् । यही रोगबाट पीडित बलिउडका चर्चित हास्य अभिनेता कादर खानको क्यानाडामा उपचारका क्रममा गत ३१ डिसेम्बरमा निधन भएको थियो ।
यसको लक्षण समय अनुसार गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन मुश्किल हुन्छ । यद्यपि हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरणशक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।