ई–आर्थिक, काठमाडौं । एनसेललाई ठूला करदाता कार्यालयले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिर्न पत्राचार गरेको छ । सर्बोच्चले तिर्नुपर्ने भनेर गरेको फैसला अनुसारको लाभकर र ब्याजसमेत जोडेर ठूला करदाता कार्यालयले एनसेनको कर निर्धारण गरी पत्रचार गरेको हो । कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ ।
एनसेलले सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण भएको थियो । यो रकममध्ये २१ अर्ब ५४ करोड तिरिसकेको हुदा बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन ठूला करदाता कार्यालयले गएको बैशाखमा एनसेललाई पत्राचार गरेको थियो । ठूला करदाता कार्यालयको यस निर्णयबिरुद्ध एनसेल सर्वोच्चमा गयो ।
सर्बोच्चले एनसेलको माग बमोजिम आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क खारेज गरिदियो र २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम गरिदियो। फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो । त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको हो ।