ई–आर्थिक, काठमाडौं । आज मंगलबार बसेको परिषदको बैठकले न्याय परिषदले ७ जना जिल्ला न्यायाधीशहरु नियुक्त र ५ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषदले उच्च अदालत तुलसीपुरको बुटवल इजलाशका रजिष्ट्रार गेहेन्द्रराज पन्तलाई भोजपुरको जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ ।
सर्वोच्च अदालतका उपरजिष्ट्रार विद्याराज पौडेल रुकुमको जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् भने अर्का उपराजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुको जिल्ला न्यायाधीश बनेका छन् ।
उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशका रजिष्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतको न्यायाधीश नियुक्त भएका छन् भने सर्वोच्च अदालतकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापा जिल्ला अदालतको न्यायाधीश नियुक्त भएकी छिन् । त्यस्तै सर्वोच्च्कै अर्की उपरजिष्ट्रार मनकुमारी जीएम विक बाँके जिल्ला अदालतकी न्यायाधीश भएकी छिन् ।
उपरजिष्ट्रार रिता कुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीश नियुक्त भएकी छन् । परिषदले देशभरका विभिन्न अदालतमा कार्यरत कर्मचारी मध्येबाट जिल्ला न्यायाधीश नियुक्त गरेको हो । त्यस्तै ५ जना जिल्ला न्यायाधीशको सरुवा समेत गरेको छ ।
जसअनुसार भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मी बारा जिल्ला अदालतमा सरुवा भएका छन् भने सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेत झापा जिल्ला अदालतमा सरुवा भएका छन् । यस्तै, नवलपुर जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौं जिल्ला अदालतमा सरुवा भएका छन् ।
दोलखा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्का मोरङ जिल्ला अदालतमा पुगेका छन भने रुकुम जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी धादिङ जिल्ला अदालत आएका छन्