ई–आर्थिक, काठमाडौं । आकस्मिक उद्धारमा प्रयोग गर्ने योजनाका साथ सिम्रिक एयरले दुई ओटा हेलिकोप्टर थप गर्ने भएको छ । नयाँ थप गरिएका बेल कम्पनीका जेट रेन्जर हेलिकोप्टर हुन । यो कम्पनीको हेलिकोप्टर पहिलो पटक नेपालमा भित्राउन लागिएको हो।निजी लगानीको हेलिकोप्टर सेवा प्रदायक सिम्रिक एयर नेपालमा बिस्वासिलो कम्पनी हो ।
यि हेलिकोप्टर विभिन्न प्रकारका दुर्घटना, सुत्केरी महिलाको उद्दार र प्राकृतिक विपत्तिका बेला प्रयोग गर्न मिल्ने गरी खरिद गर्न लागिएको हो । कम्पनीका महाप्रवन्धक प्रेम थापाका अनुसार क्यानडामा बनेका अमेरिकी ब्राण्डका यी हेलिकोप्टर आगामी जनवरीभित्रै नेपाल आइसक्ने छन्।
यि हेलिकोप्टर केही साना आकारका हुनेछन् । सिट क्षमता पाइलट र ४ जनाको मात्र हुनेछ । तर यो नेपालभित्र नेपालीकै आकस्मिक उद्दारमा फलदायी हुने अपेक्षा कम्पनीको छ। साना हेलिकोप्टर भएको हुदा भाडा पनि सस्तो पर्ने र बिरामी राख्न पनि सजिलो हुने कम्पनीले जनाएको छ ।
यि हेलिकोप्टर भ्रमण वर्ष सुरु हुने महिनामै नेपाल ल्याउन लागिएको छ । पर्यटकको सेवा र सुविधामा समेत उपयोग हुने यस्तो मोडलको हेलिकोप्टरको बजार मूल्य औसत १६देखि १७ करोड रुपैयाँ पर्ने छ । कम्पनीले अहिले ५ वटा हेलिकोप्टरबाट सेवा दिइरहेको छ । सिम्रिकसँग एयरबसका हेलिकोप्टर रहेका छन् । नेपालमा १ दर्जन कम्पनीका ३० भन्दा बढी हेलिकोप्टर उडिरहेका छन् ।