ई–आर्थिक, काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको यताउता सरुवा गरेको छ । यस्तो सरुवाले कुनै–कुनै सहसचिबहरु कति शक्तिशाली छन् भनेर देखाएको छ ।
कसैले एक पटक सीडीओको मौका पाउन पनि बर्षौ कुर्नुपर्ने, कसैले भने त्यो अबसर पाइरहने कुराले ईमानदार प्रशासकको मनोबल खस्कन थालेको गृहकै अधिकारी बताउँछन् । अहिले पनि यही चर्चा छ । मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओलाई सरुवा गरेर सीडीओ नै बनाएपछि यस्तो चर्चा चलेको हो । गृहले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायणप्रसाद शर्माालई जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा गरेको छ भने चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्साको सीडीओ बनेर गएका छन् ।
त्यसैगरी भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टको मकवानपुरको सीडीओको रुपमा सरुवा भएको छ । मकवानपुरका सीडीओ प्रेमराज जोशीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा चितवन सरुवा भएको छ । भक्तपुरमा गृह मन्त्रालयमा कार्यरत सहसचिव हुमकला पाण्डे सीडीओ भएर गएकी छन् ।
गृह मन्त्रालयले लमजुङका सीडीओ जिन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थानमा सरुवा गरेको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपचसचिव लक्ष्मण बहादुर खड्का लमजुङको सीडीओ भएर गएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीका अतिरिक्त अन्य २ जना वरिष्ठ अधिकृतहरुको पनि सरुवा गरेको छ ।