२०८३ साउन ९ शनिबार

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश प्रस्ताव पारित

ई आर्थिक    मंगलबार, मंसिर ३ २०७६
6.4K
Shares
ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश प्रस्ताव पारित

–जनता बैंकलाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित

–मर्जपछि नेपालकै ठूलो बैंक बन्ने

–बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १० अर्बभन्दा बढी र कूल कर्जा लगानी करीब रु दुई खर्ब पुग्ने

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ।

बैंकले आव २०७५÷७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ। साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ।

सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिप्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ।

साधारणसभाले बैंकको अधिकृत पूँजी रु १६ अर्बलाई वृद्धि गरी रु २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्सिरभित्र एकीकृत कारोबार शुरु गर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै उनले शेयरधनीको आकाङ्क्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने गत कात्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबल आइएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहने सहमति भएको छ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायब कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ। मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १० अर्बभन्दा बढी र कूल कर्जा लगानी करीब रु दुई खर्ब पुग्नेछ।

त्यस्तै बैंकका शाखा सञ्जाल करीब ३०० तथा सेवा केन्द्रको सङ्ख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा तीन हजार २५० भन्दा बढी कर्मचारी रहनेछन्। त्यस्तै बैंकका २५६ एटिएम, २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, तीन वैदेशिक सम्पर्क कार्यालय र करीब २० लाख ग्राहक सङ्ख्या रहने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij