अर्थमन्त्री खतिवडाले व्यवसायीलाई जतिसक्दो छिटो आफ्नै देशमा सवारीसाधन बनाउनका एसेम्बीलङ उद्योग खोल्न आग्रह गरे । आगामी १५ भदौसम्म सञ्चालन हुने मेलामा इलेक्ट्रिक र हाइब्रिड गाडीमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
मेलामा अवलोकनकर्ताले इलेक्ट्रिक कारहरू र १४ लाख रुपैयाँमा उपलब्ध हुने दुई सिटे कारमा निकै चासो देखाएका छन् । मेलामा सहभागी विभिन्न बैंकले यस्तो इलेक्ट्रिक कारलाई ८० प्रतिशतसम्म फाइनान्सको व्यवस्था मिलाएको छ । बैंकहरूले परम्परागत इन्धनबाट चल्ने कारलाई भने ५० प्रतिशत मात्र फाइनान्सिङ गरिरहेका छन् । मेलाकै अवसरमा अहिले सहभागी बैंकहरूले सबै खालका सवारीसाधनका लागि सवारीसाधन खरिद कर्जाको ब्याज दरसमेत घटाएर विभिन्न नयाँ योजना ल्याएका छन् । सोही योजनासँगै अहिले मेलामा सहभागी अवलोकनकर्ताले धमाधम गाडी बुकिङ गरिरहेका छन् ।
मेलामा मुलुकभरमा उपलब्ध दुई पांग्रे मोटरसाइकल, स्कुटीलगायत सानादेखि ठूला र सस्तादेखि महँगा गाडी बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन् । सहभागीले सहज रूपमा आफूलाई मनपर्ने सवारीसाधन खरिद गर्न पाउनेछन् । सवारीसाधन पारखीले एउटै छानामुनिबाट आकर्षक मूल्यमा आफूलाई मनपर्ने सवारीसाधन छानी छानी किन्न पाउने व्यवस्था मिलाइएको नाडाले जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले चालू आर्थिक वर्ष २०७६÷७७ को बजेटले
सवारीसाधनको स्पेयर्स पार्टमा बढाएको शूल्कले चित्त दुखेको बताए । उनले बजेटमा धेरै कडाइ नगरेको भए नेपालमा सक्कली पार्टपुर्जा आउने बताए । गत आर्थिक वर्षको १० महिनामा अटो क्षेत्रबाट ८४ अर्ब ४२ करोड राजस्व उठेको स्मरण गराउँदै उनले सरकारले एसेम्बलिङ प्लान्टमा सरकारले सहुलियत दिनुपर्ने बताए । राष्ट्र बैंकले अटो लोनमा ५० प्रतिशतको क्याप लगाएको असन्तुष्टि जनाउँदै उनले ९० प्रतिशत डाउन पेमेन्ट गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले सरकारले तत्काल भेहिकल्स फिटनेस सेन्टर स्थापना गर्न आवश्यक रहेको भन्दै यसमा ढिला नगर्न पनि आग्रह गरे ।
सवारीसाधनलाई विलासीको वस्तु ठानेर बढी कर लगाउनु व्यावहारिक होइन भन्दै उनले सरकारको यस्तो कार्यले मुलुकको पूर्वाधार विस्तार र विकास निर्माणमा बाधा पुग्ने बताए । सवारीसाधनको व्यापार सिधै मुलुकको विकाससँग जोडिएको जानकारी गराउँदै उनले संसारभर निर्माण भएका नयाँ नयाँ सवारीसाधनबारे सबैलाई सचेत बनाउन आफूहरूले विगत लामो समयदेखि यस्तो मेला आयोजना गर्दै आएको बताए । अहिलेको यस १४औं संस्करणसम्म आइपुग्दा नाडाले यहाँका उपभोक्ताको नयाँ नयाँ गाडी चढ्ने आवश्यकता र चाहना पूरा गराउन निकै सक्षम भइसकेको दाबी गरे ।
नाडाका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अटो मोबाइल्स बढ्नु भनेको आर्थिक प्रगतिको सूचक भएको बताए । जुन देशमा आर्थिक क्रियाकलाप बढ्छन्, त्यहाँ अटो मोबाइल्सको खपत बढ्छ र अटोबोमाइल्सको खपत बढेपछि सवारी जाम हुनु सामान्य भएको बताए । उनले जहाँ आर्थिक गतिविधि नै हुँदैन त्यहाँ कसरी अटो मोबाइलको खपत हुन्छ भन्ने प्रश्न पनि गरे । उनले अहिले मुलुकको राजस्वमा अटो मोबाइल्स व्यवसायको योगदान ४० प्रतिशत रहेकोमा आगामी दिनमा अटो मोबाइल्स फस्टाएको खण्डमा अझै राजस्व बढ्ने दाबी गरे ।
उद्योग वाणिज्य महासंघअन्तर्गतको वस्तुगत संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अब गाडीको आयात कम गरेर नेपालमै एसेम्बलिङ गर्नुपर्ने बताए । उनले हिजोको समयमा कारलाई विलासी साधनका रूपमा लिने गरे पनि अहिले गाउँगाउँमा यसको उपभोग बढ्न थालेको बताए । उनले भने, ‘अब हामीले कार धेरै आयात गर्नु हुँदैन, बरु नेपालमा नै एसेम्बलिङ गर्नुपर्छ ।’
मेला संयोजक निराकार श्रेष्ठले सोमा ४ पांग्रे सवारीसाधनको २३ र दुई पांग्रे सवारीसाधनको १९ सहित ९५ कम्पनीको १६० वटा स्टल रहेको बताए । जसमा बैंकका साथै सवारी साधनको पार्ट पुर्जाका पनि स्टल छन् भन्दै उनले विगतका वर्षभन्दा यो मेलामा सर्वसाधारणलाई सहज अवलोकनका लागि ओभरहेड ब्रिजलगायत थप व्यवस्थापन मिलाइएको बताए । उनले विगतका मेलाको तुलनामा यो मेलामा सर्वसाधारणका लागि सहज अवलोकन गर्ने वातावरण बनाउन पार्किङदेखि मेला स्थलसम्मको व्यवस्थापनमा आफूहरूले निकै ध्यान दिएको बताए । उनले मेलामा २३ वटा ब्रान्डका चारपांग्रे सवारीसाधनको स्टल, १९ वटा ब्रान्डका दुई पांग्रे सवारीसाधन, नौवटा ब्रान्डका टायर, पाँचवटा ब्रान्डका ब्याट्री, १४ वटा ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरूको स्टल राखिएको जानकारी दिए । मेलामा सुजुकीको हाइब्रिड कार एस–क्रस, सीआज र आर्टिकालगायतका हाइब्रिड कारहरू अवलोकनकर्ताको रोजाइमा छ । एस–क्रस हाइब्रिड टेक्नोलोजीमा आधारित नयाँ कार हो ।