२०८३ साउन ११ सोमबार

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो  

ई आर्थिक    बुधबार, साउन १ २०७६
5.9K
Shares
इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो  
रमेश लम्साल, काठमाडौं । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने ‘यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको छ ।’ मन्त्री पुनले आज गएराति (असार ३० गते) मात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको बताए । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनको भनाइ छ ।

अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ मा विद्युत् माग घट्न गएकाले बढी भएको विद्युत् भारत पठाइएको हो । देशभर हाल एक हजार २१५ मेगावाट विद्युत् माग रहेको छ । बाढी र वर्षाले विद्युत् माग घटेर ६०० मेगावाटको हाराहारीमा सीमित हुन पुगेको छ । सोमबार मात्रै विद्युत् माग बढेर एक हजार १२५ मेगावाटको हाराहारीमा पुगेको थियो ।

विद्युत् खेर जान नदिन दुई देशबीच भएको सम्झौतानुसार नै विद्युत् भारत पठाइएको हो । मन्त्री पुनका अनुसार रक्सोल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको हो । यस्तै अन्य सात विन्दुबाट पनि यता बढी भएको विद्युत् भारत गएका हुन् । ती प्रसारण लाइनमार्फत विद्युत् आयात तथा निर्यात दुवै गर्न सकिन्छ ।

यस्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट भने करीब १५० मेगावाट विद्युुत् खरिद गर्नैपर्ने बाध्यता छ । यस्तै कुलेखानी जलाशयुक्त आयोजनाको पनि जलसतह बढेका कारण २४ सै घण्टा सञ्चालन गर्नुपर्ने वाध्यता आइलागेको छ । हरेक वर्ष असोज १५ मा हुने कुलेखानी जलाशयको सतह असार ३० गते नै पुगेपछि सो आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । पछिल्लो पाँच वर्षदेखि पूर्णरुपमा नभरिएको कुलेखानी यस वर्ष जलाधार क्षेत्रमा बढी वर्षा भएपछि असारमा नै भरिएको हो । सामान्यतया कुलेखानी जलाशय एक हजार ५२६ मिटरसम्म मात्रै भर्ने गरिन्छ ।

मन्त्रालयका अनुसार हाल देशभर कूल जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ । नदीमा जलसतह बढेका कारण प्राधिकरण र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij