ई–आर्थिक, काठमाडौं । मुलुकभर ९ लाख २३ हजार ३५६ व्यवसायिक प्रतिष्ठान सञ्चालनमा रहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । मुलुकभर रहेका ती प्रतिष्ठानहरू मध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ४२२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३२९ प्रतिष्ठान रहेका छन् ।
प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति सङ्ख्या ३२ लाख २८ हजार ४५७ रहेको विभागले जानकारी दिएको छ । त्यसमध्ये पुरुष ६२.३ प्रतिशत र महिला ३७।७ प्रतिशत रहेका छन् ।
आर्थिक तथ्याङ्कको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था आदि जस्ता व्यवसायिक प्रतिष्ठान (आर्थिक एकाइ) को विवरण सङ्कलन गर्ने उद्देश्यले विभागले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गतेसम्म गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो ।
विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक गणना तथ्याङ्क सङ्कलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले जानकारी दिए । देशमा आर्थिक तथ्याङ्कको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको हो भने केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनु गणनाको मुख्य उद्देश्य भएको विभागले जनाएको छ ।
गणनामा उल्लेखित क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पूँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलब ज्याला खर्च आदिसम्बन्धी विवरण सङ्कलन गरिएका थिए । आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्यका लागि जिल्ला व्यवस्थापन कर्मचारी, सुपरिवेक्षक, गणकसहित करीब चार हजार ५०० गणना कर्मचारी संलग्न रहेका थिए ।
सरकारले आफ्नै स्रोत साधनमा आर्थिक गणना २०७५ का कार्यक्रम सञ्चालन गरेको थियो । तर यस आर्थिक गणना सञ्चालन गर्न क्षमता विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोग रहेको छ । गणनामा सबै आर्थिक क्रियाकलापका अन्तर्राष्ट्रियस्तरको औद्योगिक वर्गीकरणमा उल्लेख भएअनुसारका नेपालमा सञ्चालन भएका वा क्रियाशिल विभिन्न १८ क्षेत्रका प्रतिष्ठान समावेश छन् ।
कार्यक्रममा उपमहानिर्देशक हेमराज रेग्मीले नतिजासम्बन्धी प्रस्तुति गरेका थिए । सबैभन्दा बढी चार लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेका उपमहानिर्देशक रेग्मीले जानकारी दिए ।
त्यस्तै सबैभन्दा बढी जनशक्ति पनि थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठानमा नौ लाख ८८ हजार ३४६ सक्रिय रुपमा संलग्न छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रमा प्रतिष्ठानमा एक हजार ९७७ जनशक्ति संलग्न छन्। प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा दुई लाख ८२ हजार ९२० छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८०७ प्रतिष्ठान छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. पुष्पराज कँडेलले गणनाको नतिजा सार्वजनिक गरेका थिए । विभागले समय समयमा विभिन्न गणना, सर्वेक्षण तथा अन्य श्रोतबाट तथ्याङ्क सङ्कलन गरी नतिजा बाहिर ल्याउँदै आएको छ ।