२०८३ साउन ९ शनिबार

सडक विस्तारको काममा लापरबाही गर्ने ठेकेदारलाई १५ करोड जरिवाना    

ई आर्थिक    मंगलबार, असार ३ २०७६
4.9K
Shares
सडक विस्तारको काममा लापरबाही गर्ने ठेकेदारलाई १५ करोड जरिवाना    
रमेश खतिवडा, मङ्गलबार, ०३ असार २०७६, दोलखा – दोलखालाई राजधानीसँग जोड्ने मुख्य मार्ग चरिकोट–खाडीचौर सडक विस्तारको काममा लापर्बाही गरी अलपत्र पारेको भन्दै कार्यरत दुईवटा ठेकेदार कम्पनीलाई सडक विभागले दैनिक साढे सात लाख रुपैयाँ हर्जाना तिराउने निर्णय गरेको छ। एक्जिम बैंकको सहयोगमा ४ वर्षअघि सुरु सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापर्बाही गरी अलपत्र पारेको भन्दै कारबाहीस्वरूप विभागले दुवै ठेकेदार कम्पनीबाट दैनिक साढे सात लाख हर्जाना भराउने निर्णय गरेको हो ।

सार्वजनिक खरिद नियमावलीअनुसार काममा ढिलासुस्ती गर्ने दुवै ठेकेदारले दुई सय दिनसम्म सडक विभागलाई उक्त हर्जाना बुझाउनुपर्नेछ। ४ वर्षअघि टेन्डर भएको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर यो सडक खाडीचौर बजारदेखि मुडेभन्दा तल्लो मोडसम्म २५ र त्यहाँदेखि चरिकोट बजारसम्म ३० किलोमिटर गरी दुईवटा प्याकेजमा ठेक्का लागेको थियो। पहिलो प्याकेज ३९ करोड र दोस्रो प्याकेज ७० करोड रुपैयाँमा ठेक्का लागेको थियो।

दुइै सय दिनभित्र काम नसिध्याए पहिलो प्याकेजको जिम्मा पाएको गौरीपार्वतीले ६ करोड र दोस्रो प्याकेजको जिम्मा पाएको शंकर मालीले ९ करोड गरी १५ करोड रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्नेछ।

खाडीचौरदेखि मुडेसम्म पहिलो प्याकेजको ठेकेदार कम्पनी गौरीपार्वती निर्माण सेवाले दैनिक ३ लाख र मुडेदेखि चरिकोटसम्मको ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाले दैनिक ४ लाख ५० हजार रुपैयाँ हर्जाना तिर्नुपर्नेछ। दुई सय दिनभित्र काम नसिध्याए पहिलो प्याकेजको जिम्मा पाएको गौरीपार्वतीले ६ करोड र दोस्रो प्याकेजको जिम्मा पाएको शंकर मालीले ९ करोड गरी १५ करोड रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्नेछ।

सडक विस्तार आयोजनाका प्रमुख धर्मेन्द्रकुमार झाले काममा ढिलासुस्ती गरेका कारण ती निर्माण कम्पनीलाई हर्जाना लगाइएको सुनाए। ‘हर्जाना दुई सय दिनसम्म तिर्नुपर्नेछ,’ उनले भने, ‘यदि फेरि पनि २ सय दिनभित्र काम नभए ठेक्का तोड्ने प्रक्रियामा जानेछ।’

झाले पहिलो प्याकेजको ठेकेदार कम्पनीको दोस्रो पटक थपिएको म्याद एक महिनाअघि (मे २० तारिखमा) सकिएको र म्याद थपसँगै कारबाहीस्वरूप उक्त हर्जाना लागेको सुनाए। यस्तै दोस्रो प्याकेजका ठेकेदारको दोस्रो पटक थपिएको म्यादसमेत एक महिनापछि सकिँदै छ।

पहिलो प्याकेजको निर्माण कम्पनीले जिम्मा पाएको २५ किलोमिटरमध्ये सात किलोमिटर सडक कालोपत्रे गरिसकेको झाले जानकारी दिए। उसले वर्षाअगाडि १३ किलोमिटरसम्म कालोपत्र गर्नसक्ने लक्ष्य लिएको छ। ग्राभेल तथा बेस बिच्छ्याउने कामसमेत धमाधम भइरहेको छ।

दोस्रो प्याकेजमा काम असाध्यै सुस्त छ। खरिढुंगाआसपासका केही स्थानमा बेस बिच्छ्याउने बाहेक कालोपत्रको काम दोस्रो प्याकेजमा सुरु हुनै सकेको छैन। २०७२ भदौमा ठेक्का लागेको यो सडकमा राम्रो मूल्य दर भएका वाल, कटिङलगायत पूर्वाधार निर्माणको कामपछि दुवै ठेकेदार कम्पनीले बीचैमा काम छाडेका कारण सडक आयोजना नै चार वर्षदेखि अलपत्र पर्दै आएको थियो। दुवै प्याकेजमा साझेदार बनेका सुनौला खिम्ती र त्यसका सञ्चालक कर छलीसम्बन्धी मुद्दामा परेपछि लामो समयसम्म सडक अलपत्र बन्न पुगेको हो।
फोटो क्याप्सन

चरिकोट खाडीचौर सडकअन्तर्गत पहिलो प्याकेजको खाडीचौर बजारभन्दा माथिल्लो क्षेत्रमा गरिएको कालोपत्र। २५ किलोमिटरको यो प्याकेजमा सात किलोमिटर मात्रै कालोपत्र सकिएको छ।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij