२०८३ साउन ९ शनिबार

वस्तु बजार सञ्चालनमा आवेदन नै परेन  

ई आर्थिक    बुधबार, जेष्ठ २२ २०७६
8.4K
Shares
वस्तु बजार सञ्चालनमा आवेदन नै परेन  
पूजा चँदारा, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि आह्वान गरेको आवेदनमा कुनै पनि कम्पनीले आवेदन दिएका छैनन् । धितोपत्र बोर्डले १२ वैशाखमा आवेदन खुला गर्दै कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि पूर्वस्वीकृति लिन इच्छुक कम्पनीले २ महिनाभित्र बोर्डमा निवेदन दिनुपर्ने जनाउँदै आवेदन खुला गरेको हो ।

आवेदन खुला भएको झन्डै डेढ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीले आवेदन नदिएको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता निरज गिरीले अब सञ्चालन अनुमतिको माग गर्दै आउने प्रस्तावित कम्पनीले रणनीतिक साझेदार ल्याउन सकिने हुँदा पनि कम्पनी छलफलको अवस्थामा नै रहेको हुन सक्ने बताए । यसअघि आवश्यक कागजात नपुगेको र मापदण्ड पूरा नगरेको भन्दै सञ्चालनको अनुमति माग्दै आएका आवेदन रद्द गरेको जानकारी पनि उनले दिए ।

यसअघि वस्तु बजार सञ्चालन अनुमतिको माग गर्दै विभिन्न पाँचवटा कम्पनीले बोर्डमा आवेदन दिएका थिए । वस्तु बजार सञ्चालनका लागि निजी क्षेत्रका नेपाल कमोडिटी (एनसीडीएक्स) लिमिटेड, कमोडिटी प्mयुचर्स एक्सचेन्ज (सीएफएक्स), नेपाल मर्कन्टाइल (नेक्स), मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स), राईजल कमोडिटी (आरसीडीएक्स)ले आवेदन दिएका थिए । यी कम्पनी छलफलका लागि बोर्डमा आए पनि सञ्चालनको अनुमतिका लागि आवेदन नदिएको प्रवक्ता गिरीले बताए ।

उनका अनुसार चुक्ता पुँजी र प्रस्तावित प्रविधि, व्यावसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यतालाई आधार मानेर सञ्चालनको अनुमति दिइन्छ । अझै आवेदन दिने समय भएको र यसबीचमा पनि आवेदन परेन भने बोर्डले समय थप गर्ने या नगर्ने निर्णय लिने गिरीले बताए ।वस्तु विनिमय बजारको विकास तथा सञ्चालन लगानीकर्ताको संरक्षणका लागि भन्दै सरकारले वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ जारी गरेको हो ।
सो ऐन १५ साउन २०७४ मै पारित भइसकेको छ । ऐनमा वस्तु विनिमय बजार सञ्चालन गर्न न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँसम्म हुनुपर्ने व्यवस्था छ । यी सबै आधारलाई हेरेर दुईवटा कम्पनीलाई सञ्चालन अनुमति प्रदान गर्न बोर्डले पुनः आवेदन खुला गरेको हो ।

हाललाई बोर्डले अर्थतन्त्रको अवस्था, बोर्डको नियमन गर्ने क्षमता र बजारको आवश्यकतालाई मध्यनजर गर्दै दुईवटा कम्पनीलाई मात्रै छनोट गर्ने भए पनि निकट भविष्यमा एक्सचेन्ज कम्पनी पुनः थप गर्न सक्ने जनाएको छ । तर, अहिले गैरकानुनी रूपमा सञ्चालनमा आएका एक्सचेन्ज कम्पनी र छनोटमा नपरेका कम्पनी भने अवैध मानिने बोर्डका प्रवक्ता गिरीले बताए ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij