मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि रु दुई हजार ५०० प्रवेश शुल्क तोकिएको थियो । उक्त स्थानमा जाने सङ्कलनकर्ताबाट गाउँपालिकाले शुल्कबापत रु ९० लाख प्रवेश शुल्क उठाएको हो ।
मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन गर्न जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको थियो । यो वर्ष जिल्लाभित्र र बाहिर जिल्लाबाट आएका चार हजार सङ्कलनकर्तालार्ई प्रवेश अनुमति दिइएको थियो । यो वर्ष सङ्कलनकर्ताबाट रु ९० लाख स्थानीय राजश्व उठेको मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिनुभयो ।