ई–आर्थिक, काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारको ९ जनाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको सम्बन्धमा छानविन गर्न प्रहरी टोली घटनास्थल प्रस्थान गरेको छ । सो स्थानमा ज्वाइँ–ससुराको घरका नौ जनाको विभत्स हत्या भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एक टोली घटनास्थल प्रस्थान गर्दैछ ।
घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको हो ।
धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो अहिलेसम्म यसको कारण खुल्न सकेको छैन ।
एसपी उमाप्रसादको टोली १२ बजे हेलिकप्टरमार्फत ताप्लेजुङ जाने बताइएको छ ।
उता संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री अनुसन्धानका लागि आफैं हिँडेका छन् । उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ।
अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले गएराती १२ बजेभन्दा अघि नै दुई परिवारको हत्या गरेको प्रहरी समक्ष बयान दिइसकेकी छन् ।