२०८३ साउन ९ शनिबार

६५ आरोही सगरमाथाको चुचुरामा

ई आर्थिक    शुक्रबार, जेष्ठ ३ २०७६
6.9K
Shares
६५ आरोही सगरमाथाको चुचुरामा

३ जेठ २०७६, सोलुखुम्बु। वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन्। मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो। मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए।

बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए। आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन्।

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन्। तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन्। लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन्।

बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। बिहीबार बिहान आधार शिविरमा रहेका नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठसँगको टेलिफोन संवादका बेला एकै दिन सयभन्दा बढीले आरोहण गर्ने आँकलन गरेका थिए।

अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ। हिमाल आरोहणलाई साहसिक कार्यको रुपमा लिइन्छ। सोही साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन्। सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो। विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष करीब रु ४० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij