ई–आर्थिक, २६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गरेका छन् ।
६ दिने भ्रमका क्रममा प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । त्यहाँ ३० गतेसम्म व्यस्त रहनेछन् ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ लागेका हुन् ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र उच्च पदस्त व्यक्तिहरूले बिदाइ गरेका छन् ।
भियनतामको भ्रमण सकेपछि प्रधानमन्त्री ओली ३० गते नै कम्बोडिया तर्फ लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
दुबै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धन जस्ता विषयमा छलफल गर्ने बुझिएको छ ।
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि भ्रमणमा सहभागी छन् ।
प्रधानमन्त्री ओली दुबै देशको भ्रमण सकेर आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।