ई–आर्थिक, काठमाडौं । निर्माण व्यवसायीहरुलाई लगातार ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । नचिनिएको फोन नम्बरबाट आएको धम्कीप्रति व्यवसायीले चिन्ता व्यक्त गर्दै सरकारको गुनासो गरेका छन् ।
महासंघले पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढी निर्माण व्यवसायीहरुलाई नचिनेको नम्बरबाट ज्यान मार्ने धम्की आएको बताएका छन् । उनीहरूले सो को जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई गराउँदा पनि चासो नदिएको भन्दै गुनासो व्यक्त गरेका हुन ।
महासंघका अध्यक्ष रवि सिंहले दिनहुँ जसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्कीका फोन आउने गरेको बताए ।
अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्वअध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की मोबाईलमार्फत आउने गरेको महासंघको भनाई छ ।
यो विषयको जानकारी प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी दिइसकेको व्यवसायीले बताएका छन् ।
यसरी जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि व्यवसायीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराएका हुन ।
अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भिर बन्न पनि सरकारलाई ध्यानाकर्षण गराए ।
सोही कार्यक्रममा निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएका छन । महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको पनि जानकारी गराए ।