ई–आर्थिक, काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दुई शाखा विस्तार गरेको छ । इन्स्योरेन्सले दाङको घोराही र सल्यानको श्रीनगरमा शाखा विस्तार गरेको हो । इन्स्योरेन्सको ती शाखामार्फत औपचारिक रूपमा जीवन बिमाको कारोबार प्रारम्भ गरेको छ ।
दाङको घोराहीमा आयोजित एक विशेष समारोहकाबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । ढकालले करिब २० वर्षअघिदेखि नै आईएमई समूहद्वारा सञ्चालित विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङमा स्थापना गर्दै आएको स्मरण गराउनुभयो । आम सेवाग्राहीहरूलाई सबै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने समूहको उद्देश्य अनुरुप दाङको घोराहीमा आईएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताउनुभयो ।
त्यसैगरी सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा गर्नुभएको थियो । सो कार्यक्रममा विष्टले जिल्लामा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरूमा जीवन बिमाको पहुँच र यसप्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । दुवै शाखा उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुवराज श्रेष्ठ (भारी) र भरत आचार्यलगायत सहभागी थिए ।