२०८३ साउन ९ शनिबार

उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी, आगो गाउँ पस्ने खतरा

ई आर्थिक    आइतबार, चैत्र ३ २०७५
4.3K
Shares
उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी, आगो गाउँ पस्ने खतरा

ई–आर्थिक, गाईघाट, ३ चैत : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ ।

नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ ।

सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो गाउँक्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि जिल्ला वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयवासीसहित ५० जनाले दुई दिन लगाएर शनिबार दिउँसोसम्ममा डढेलो पूर्णरूपमा नियन्त्रण गरेको उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाको त्रिवेणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापकरूपमा डढेलो बढ्दै गएपछि जिल्ला वन कार्यालय उदयपुरको अगुवाइमै शनिबार बिहानैदेखि दिनभरि डढेलो नियन्त्रण कार्य भइरहेको र अहिले सो क्षेत्रमा वनको कर्मचारीसहित स्थानीयवासी गरेर ४० जना डढेलो नियन्त्रणमा खटिरहेको पनि अधिकृत यादवले बताउनुभएको छ ।

चुरे वनक्षेत्रमा डढेलो शुरु भएर दिनमा आउने हावाहुरीले झनै फैलिँदै गएपछि चुरे क्षेत्रका गाउँ सनुवा, जोगिदह, मोथ्याई, मोतिगडा, भुल्केसहितका झण्डै एक हजार ५०० बढी घरपरिवार रहेको गाउँ खतरामा परेपछि जिल्ला वन कार्यालयको अगुवाइमा डढेलो नियन्त्रण अभियान कार्यलाई तीव्रता दिइएको वन कार्यालयले बताएको छ ।

तीन दिनभित्र ५० हेक्टर बढी क्षेत्रफलको डढेलो नियन्त्रण गरिसकिएको र अब अन्य बाँकी क्षेत्रका डढेलो पनि नियन्त्रण कार्यलाई तीव्र पारिँदै गएपछि सामान्य हुँदै गएर नियन्त्रणमा आइसकेको सम्बद्ध पदाधिकारीले बताएका छन् ।

सुक्खा मौसम तथा हावाहुरीका कारण चुरे क्षेत्रमा घाँस, दाउरा तथा गोठाला जानेले नै सुर्तीबिँडी खाएर मनपरी फाल्नाले डढेलो सल्केको हुनसक्ने सहायक जिल्ला वन अधिकृत यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij