२०८३ साउन ९ शनिबार

पर्यटकीय क्षेत्र बनाइँदै डुम्रीकुना घाट

ई आर्थिक    शनिबार, फाल्गुन २५ २०७५
3.7K
Shares
पर्यटकीय क्षेत्र बनाइँदै डुम्रीकुना घाट

सुशीला रेग्मी, बेझाड, २५ फागुन : कालीगण्डकीसँग जोडिएको डुम्रिकुना घाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ सघाहमा रहेको डुम्रिकुना घाटलाई यहाँका स्थानीयवासी अहिले धार्मिक पर्यटनको केन्द्र बनाउन जुटेका छन् ।

पाल्पा र स्याङ्जाको धार्मिक सङ्गमस्थलका रुपले परिचित सो क्षेत्रलाई कालीगण्डकी वेशीकै धार्मिक महत्व बोके पनि पूर्वाधार विकासमा पछाडी परेको थियो । यहाँका स्थानीयवासी धार्मिक क्षेत्रका रुपमा विकास गर्ने गरी योजना बनाएर अगाडि बढेका छन् ।

करीब तीन हेक्टर क्षेत्रफलमा एक सय आठ पिपलका बिरुवा रोपण, पिपलका बोटलाई व्यवस्थित बारबन्देज, तीन वटा चौतारी निर्माण गर्ने काम भइसकेको छ भने शालिग्रामको मन्दिर निर्माणकार्य भइरहेको लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानका अध्यक्ष छविलाल डुम्रेले बताउनुभयो ।

“गौ संरक्षणका लागि गौशाला निर्माण, आयुर्वेद जडीबुटीको संरक्षण, एक रोपनी क्षेत्रफलमा लक्ष्मीनारायणको विशाल मन्दिर निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ कामलाई अगाडि बढाइएको छ” अध्यक्ष डुम्रेले भन्नुभयो ।

सो योजना सम्पन्न गर्न करीब रु दुई करोड ५० लाख रकम लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने कार्यमा यहाँका स्थानीयवासी तथा समाजसेवीबाट हालसम्म करीब रु चार लाख सङ्कलन गरिएको छ ।

उक्त कार्यमा यहाँका सात सय स्थानीयवासीको जनश्रमदानसहित रु सत्र लाख रकम खर्च भइसकेको प्रतिष्ठानका सचिव ऋषिराम अर्यालले बताउनुभयो । धार्मिक पर्यटन केन्द्र बनाउन ‘पिपल रोपौँ, पुण्य कमाऊ, पर्यावरण जोगाऊ, स्वस्थ बनौँ’ भन्ने नारासहित यहाँका स्थानीयवासी पिपलका बोट संरक्षण अभियानमा छन् । तीन हेक्टर क्षेत्रफलमा १५० पिपलका बिरुवा रोपण गरिएको छ भने विस्तार गर्दै जाने समितिले जनाएको छ ।

“विकास निर्माणको नाममा पछिल्लो समय गाउँघरमा रहेका पिपलका बोट मासिँदै जान थालेपछि यसको पौराणिक महत्वलाई लोप हुन नदिन र धार्मिक पर्यटकीय क्षेत्रका रुपम विकास गर्ने उद्देश्यले एक वर्षदेखि पिपलका बोट संरक्षण अभियानलाई अगाडि बढाएका छौ” सचिव अर्यालले भन्नुभयो ।

धार्मिक क्षेत्र संरक्षणका लागि काम गर्न पाउँदा निकै रमाइलो लागेको स्थानीय डिला रानाभाटले बताउनुभयो । सघाह ठूलीटार सामुदायिक वनले गते असारमा सो क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा घोषणा गरेको छ । आँप, लिची, कटहर गरी एक सय पचास बोट फलफूल, श्रीखण्ड, चन्दन, बेलका बिरुवा लगाइएको छ भने मन्दिरमा प्रयोग हुने विभिन्न जातका फुल लगाउने काम भइरहेको छ ।

उत्तरबाहिनी क्षेत्रमा अवस्थित रहेकाले पनि उक्त क्षेत्रमा पिपलका बोटसँग कुश, तुलसी क्षेत्र बनाउने पनि स्थानीयवासीले तयारी गरिरहेको स्थानीय समाजसेवी दिनेशप्रसाद अर्यालले बताउनुभयो । यस्तै सो क्षेत्रमा नागपोखरी बनाएर बीचमा राख्ने तयारी भइरहेको छ । सोही ठाउँमा फेला परेको एकमुखे रुद्राक्षको शिलालाई सिमेण्टको चौको बनाएर राखिएको छ ।

धार्मिक पर्यटन विकासलाई प्रवद्र्धन गर्न उत्तरबाहिनी क्षेत्र कालीगण्डकीको किनारसम्म जोड्ने करीब दुई किलोमिटरको सघाह डुम्रिकुनाघाट सडक निर्माण गरिएको छ । स्थानीयवासीको जनश्रमदान र रम्भा गाउँपालिकाको रु आठ लाख सहयोगमा उक्त सडक निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij