२०८३ साउन ९ शनिबार

असुविधा हुने गतिविधि नगर्न बोर्डको आग्रह, मार्जिन कारोवार शुरु गर : स्टक

ई आर्थिक    मंगलबार, फाल्गुन १४ २०७५
12.8K
Shares
असुविधा हुने गतिविधि नगर्न बोर्डको आग्रह, मार्जिन कारोवार शुरु गर : स्टक

ई–आर्थिक, काठमाडौँ, १४ फागुन : धितोपत्र बजारको सुधारको विषयमा सघन छलफल र सुधारात्मक प्रयास भइरहेको बेला व्यवसायीले आन्दोलन गर्ने भन्दै विभिन्न कार्यक्रम अगाडि सारेको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सरकारले गठन गरेको मुद्रा तथा पूँजी बजारसम्बन्धी कार्यदलको सुझावअनुसार धितोपत्र बजारको समस्याको समाधानको पहल भइरहेको र सुधारका क्रममा रहेको बोर्डले पहल गरिरहेको स्पष्ट पारेको छ । पूँजीबजारको सुधार र विकासको पहल भइरहेको र बोर्डलाई थप स्वायत्तता प्रदान गर्ने गरी सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को संशोधनको प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल व्यवसायीको पहलमा अन्य सुधारात्मक कामसमेत अगाडि बढिरहेको पहल गरिरहेको र काठमाडौँबाहिर ४१ स्थानमा दलाल व्यवसायीको शाखा खोल्न स्वीकृति दिइएको तथा अन्य ठाउँमा शाखा खोल्न पूर्वस्वीकृति दिइएको स्पष्ट पार्दै बोर्डले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा बजार अगाडि बढाउन प्रयास गरिरहेको र आवश्यक सुझावको समेत अपेक्षा गरिएको स्पष्ट पारेको छ ।

व्यवसायीले गर्ने भनिएको विरोधका कार्यक्रमले लगानीकर्तालाई असुविधा भई बजारमा अझै प्रतिकूल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने भएकाले संयमता अपनाउन आग्रह गरिएको प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

मार्जिन कारोवार शुरु गर्न स्टकको आग्रह

नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोवार शुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । स्टकले आज सबै धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै मार्जिन कारोवार प्रणाली शुरु गर्न आग्रह गरेको हो ।

कारोवारलाई सुरक्षित, पारदर्शी एवम् व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ तयार भई लागू भइसकेको छ । सोही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत सबैलाई स्टकले आग्रह गरेको छ ।

उक्त व्यवस्थाबमोजिम शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउनेछन् । धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij