२०८३ साउन ९ शनिबार

औद्योगिक लगानी आकर्षित गर्दै हुलाकी राजमार्ग

ई आर्थिक    सोमबार, फाल्गुन ६ २०७५
8.7K
Shares
औद्योगिक लगानी आकर्षित गर्दै हुलाकी राजमार्ग

माधव ढुंगाना, फाल्गुन ६, २०७५, (भैरहवा) — व्यवसायीको नजरमा पर्न नसकेको भैरहवा–परासी हुलाकी राजमार्ग आसपासको क्षेत्रले अहिले धेरै उद्यमीलाई आकर्षित गरेको छ । स्वदेशी र विदेशी लगानीसँगै यो क्षेत्र औद्योगिक करिडोरका रूपमा विस्तार हुन थालेको हो ।

ठूल्ठूला खाल्टा, धुलाम्मे र हिलाम्मे कच्ची सडक । दिनभरिमा फाट्टफुट्ट मात्रै ढुवानीका लागि चल्ने ट्रक र ट्रयाक्टर । कष्टकर सडकका कारण भैरहवाबाट २२ किमिको दूरीमा रहेको परासी बजार पुग्न बुटवल हँुदै ५५ किमि यात्रा गर्नुपर्ने बाध्यता । सस्तो मूल्यमा पनि जग्गा बिक्री नहुने स्थानीयबासीलाई चिन्ता ।

डेढ दशकअघिसम्म हुलाकी राजमार्गको अवस्था यस्तै थियो । अहिले भने अवस्था फेरिएको छ । हुलाकी सडकलाई विस्तार र व्यवस्थित गरी भैरहवादेखि धकधही, परासी हुँदै महेन्द्र राजमार्गस्थित भुमहीसम्म जोडेर पक्की बनाइएपछि यस क्षेत्रको परिस्थिति फेरिएको हो । ‘हुलाकी सडकको विस्तार र विकासले सडक वरपरका गाउँ र क्षेत्रको मुहारै फेरिदियो,’ रूपन्देही ६ का प्रतिनिधिसभा सदस्य प्रमोद यादवले भने, ‘यो क्षेत्र छोटो समयमै नयाँ औद्योगिक करिडोरका रूपमा स्थापित हुँदै छ ।’

उद्योग व्यवसाय गर्न खोज्नेको चाप यस क्षेत्रमा बाक्लिँदै गएको छ । करोडदेखि अर्बौं लगानीसम्मका दर्जनौं उद्योग स्थापित भई सञ्चालनमा आइसकेका छन् । सडकदेखि डेढ–दुई किमि भित्रसम्म पनि उद्योग खुल्ने क्रम जारी छ । उद्योग स्थापनाका लागि जग्गा खरिद गरेर कम्पाउन्ड घेरिएका स्थल दर्जनौं भेटिन्छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रबाट १५ किमि हवाई दूरीमा वातावरणमा प्रदूषण फैलाउने प्रकृतिका कुनै पनि उद्योग स्थापनामा रोक लगाएपछि उद्योगी व्यवसायीको रोजाइमा हुलाकी राजमार्ग आसपासको क्षेत्र पर्न थालेको हो । यहाँ पछिल्लो पाँच वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी उद्योग क्षेत्रमा भित्रिएको छ ।

भैरहवा–लुम्बिनी क्षेत्रमा १५ किमिको हवाई दूरीको मापदण्ड, भैरहवा–बुटवल खण्डमा तीव्र गतिमा बढदो सहरीकरणले गर्दा जमिन अभाव, जमिनको मूल्य अत्यधिक महँगोलगायतका कारणले लगानीकर्ता यस क्षेत्रमा आकर्षित हुन थालेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिद्धार्थ गु्रपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।
‘भैरहवा–बुटवल क्षेत्रमा बढ्दो सहरीकरणले जग्गाको अभाव छ,’ अग्रवालले भने, ‘१५ किमिको हवाई दूरीको मापदण्ड भएपछि मैले पनि यस क्षेत्रमै उद्योग स्थापना गरेको हुँ ।’ उनका अनुसार करिडोरमा उद्योग स्थापनाका लागि बजार क्षेत्रभन्दा मूल्य सस्तो र जग्गा पनि सहजै उपलब्ध छ ।

भारतबाट कच्चा पदार्थ आयातका लागि सीमा नाका नजिकै रहेकाले पनि सबैको रोजाइमा यो क्षेत्र पर्न थालेको हो । करिडोरमै खोलिएको अग्रवालको श्री स्टिल उद्योगमा मात्रै ४ अर्बभन्दा बढीको लगानी छ ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij