२०८३ साउन ९ शनिबार

सीमासम्म भारतको जलमार्ग निर्माण सुरु, गण्डक नदीको नेपाली सीमासम्म बन्ने जलमार्गले नेपाल कसरी जोड्ने भन्ने अझै अन्योल

ई आर्थिक    बुधबार, फाल्गुन १ २०७५
1.8K
Shares
सीमासम्म भारतको जलमार्ग निर्माण सुरु, गण्डक नदीको नेपाली सीमासम्म बन्ने जलमार्गले नेपाल कसरी जोड्ने भन्ने अझै अन्योल

कृष्ण रिजाल, २०७५ फाल्गुण १ काठमाडाैं : भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ । भारतको केन्द्रीय सरकारले गंगा नदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो ।

भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले सोमबार बिहारको हाजिपुर (गंगा र गण्डकको संगम)देखि बाघा (नेपालको सिमानानजिक) सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन् । यसबाट दुई मुलुकबीचको जलमार्ग निर्माण कार्यले गति लिएको मन्त्रालयले जनाएको छ ।

‘गण्डक नहरदेखि बिहारको हजिपुरसम्म बहने गण्डक (एनडब्ल्यू३७)मा जलमार्ग निर्माण सुरु भएको छ,’ मन्त्रालयले आधिकारिक ट्विटरमा उल्लेख गरेको छ, ‘यससँगै गंगा नदीले नेपाललाई जलमार्गबाट वाराणसी रिभर टर्मिनल र हल्दिया तथा कोलकाता बन्दरगाहमा जोड्नेछ ।’ यसले नेपालको आयात–निर्यातलाई वातावरणमैत्री तथा कम लागत हुने यातायातको विकल्प खुला गरिदिनेसमेत मन्त्रालयले जनाएको छ ।

करिब तीन सय किलोमिटर लामो उक्त जलमार्गमा चारवटा टर्मिनल हुनेछन् । जलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । डिपिआरअनुसार पहिलो फेजको जलमार्ग निर्माणको लागत करिब १२ करोड ९१ लाख भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पहिलो फेजमा प्रारम्भिक चरणका पूर्वाधारहरू निर्माण हुनेछन् । यो काम २०२० सम्ममा सक्ने लक्ष्य राखिएको भारतको सिपिङ मन्त्रालयले जनाएको छ । गंगा–गण्डक जलमार्गले आगामी पाँच वर्षमा १ करोड १६ लाख टन कार्गो बोक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

भारतले गत २६ कात्तिकदेखि उत्तरप्रदेश राज्यस्थित बारानसीमा स्थलगत जलमार्गको पहिलो मल्टिमोडल टर्मिनल सञ्चालनमा ल्याएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीस्थित गंगा नदीमा बनेको जलमार्ग मल्टिमोडल टर्मिनलको उद्घाटन गरेका थिए । सोही दिनदेखि कोलकाता÷हल्दिया– वाराणसीमा स्थलगत पानीजहाज औपचारिक रूपमा सञ्चालनमा आएको छ । अब गंगा नदीबाट गण्डकमा समेत पूर्वाधार निर्माण सुरु भएसँगै नेपाल–भारत अन्तरदेशीय जलमार्ग निर्माणले गति दिने देखिएको हो ।

भारतले गंगा नदीमा पूर्वाधार निर्माण गरिरहेको र त्यसलाई गण्डकमा समेत जोड्ने काम थालेसँगै नेपालको नारायणी नदीसम्म जलमार्ग निर्माण हुने काम सुरु भएको जल तथा ऊर्जा आयोगका सहसचिव तथा इनल्यान्ड वाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए । ‘भारतीय पक्षले गण्डक र गंगाको संगमदेखि नेपालको सीमानजिकसम्म करिब ३७ करोड लागतमा जलमार्गको प्रारम्भिक पूर्वाधार तयार गर्ने हामीलाई अनौपचारिक जानकारी दिएको थियो,’ उनले भने, ‘जलमार्गमन्त्रीले शिलान्यास गरेका छन्, अब कामले गति लिने देखिन्छ ।’ यद्यपि, नेपालसम्म कसरी जोड्ने भन्नेबारे अहिल्यै निक्र्योल भइनसकेको उनले बताए ।

पानीजहाज कार्यालय २ फागुनमा 
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ फागुनमा पानीजहाज कार्यालय उद्घाटन गर्ने भएका छन् । ललितपुरको एकान्तकुनामा रहेको पानीजहाज कार्यालयको नेतृत्व इन्जिनियरिङ सेवाअन्तर्गतको राजपत्रांकित तृतीय श्रेणीका व्यक्तिले गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत स्थापना हुने पानीजहाज कार्यालयमा कार्यालयप्रमुखसहित १६ जना कर्मचारी रहनेछन् ।

मार्चमा दुईपक्षीय वार्ता हुँदै
आगामी मार्चमा नेपाल र भारतबीच अन्तरदेशीय जलमार्ग निर्माण तथा सञ्चालनसम्बन्धी वार्ता हुने भएको छ । काठमाडौंमा मार्च ३ देखि ९ तारिखसम्म हुने वार्ताले नेपाल–भारतबीच निर्माण हुने अन्तरदेशीय जलमार्गको स्पष्ट मोडालिटी तय गर्ने जल तथा ऊर्जा आयोगका सहसचिव तथा इनल्यान्ड वाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए । सोही अवसरमा दुवै मुलुकको संयुक्त टोलीले कोसी र नारायणी नदीको स्थलगत निरीक्षण तथा अध्ययनसमेत गर्ने उनले बताए ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij