२०८३ साउन ११ सोमबार

राष्ट्रिय सतर्कता केन्द्र भन्छ, अधिकांश निर्माणाधीन सडकमा प्राविधिक त्रुटि

ई आर्थिक    शनिबार, माघ २६ २०७५
2.5K
Shares
राष्ट्रिय सतर्कता केन्द्र भन्छ, अधिकांश निर्माणाधीन सडकमा प्राविधिक त्रुटि

केशवप्रसाद पाण्डे, काठमाडौं । सरकारकारले ठेक्का दिएका देशभरका अधिकांश निर्माणाधीन सडकखण्डमा त्रुटि नै त्रुटि भेटिएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्राविधिक टोलीले मुलुकका अधिकांश भागमा निर्माणाधीन सडकमा व्यापक लापर्बाही भइरहेको औंल्याएको छ ।

सतर्कता केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई बुझाएको आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदनमा निर्माणाधीन अधिकांश सडकमा ठेकेदारको गम्भीर लापर्बाही देखिएको भन्दै अनुगमन कार्यलाई सशक्त बनाउन सुझाव दिएको छ ।

सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले सडक निर्माणको क्रममा प्राविधिक रूपमा नै व्यापक त्रुटि देखिएको जानकारी दिए ।

‘सरकारी निकायबाट सशक्त अनुगमन नहँुदा ठेकेदारहरूले चरम लापर्बाही गरेको पाइएको छ, धेरै त्रुटि देखिएकाले यस्तो प्रवृत्तिले निर्माण भएका सडक छिट्टै भत्कन सक्ने देखिएको छ,’ प्रवक्ता लामिछानेले भने ।

केन्द्रका अनुसार अर्बौंको लागतमा बनिरहेका विभिन्न ९९ वटा सडक खण्डको प्राविधिक परीक्षण गरिएको थियो ।

स्थलगत अध्ययनपश्चात् तयार पारिएको प्रतिवेदनमा अधिकांश सडकको निर्माणको अवस्था आशातीत नरहेको पाइएको छ । ठेकेदारहरूले अधिकांश सडकमा कम लागतमा काम सम्पन्न गराएर सडकको अवस्था कमजोर बनाउन खोजेको देखिन्छ ।

भीमढुंगा–लामीडाँडा–गल्टी रोड, धादिङ सडकखण्डमा सडक निर्माण हुँदाकै क्रममा सडकमा समस्या देखिएको पाइएको छ । अनुगमनका क्रममा सम्झौताका क्रममा उल्लेखित मापदण्डअनुरूपको निर्माण सामग्रीको साटो कमसल निर्माण सामग्रीको प्रयोग गरेको पाइएको छ ।

त्यस्तै, सडकमा काम भइरहेको अवस्थामा राखिनुपर्ने तथा सडक निर्माणस्थल पार गरेर जाने सवारीका लागि आवश्यक स्थानमा राखिनुपर्ने जानकारीमूलक र चेतावनीमूलक ट्राफिक चिह्न नराखिएको पाइएको छ । यसबाट काममा खटिएका कामदार तथा गुड्ने सवारी असुक्षित रहन्छ । आवश्यक डाइभर्सनसमेतको व्यवस्था नरहेको पाइएको छ ।

नुवाकोट जिल्लाको मान्द्रेढुंगा–खड्गभन्ज्याङ–काफलपानी सडकखण्डमा ठेकेदारले सम्झौताको समयमा प्रतिबद्धता गरेअनुसार सडकको अवस्था तथा प्रगति विवरणबारे समयसमयमा अद्यावधिक गर्नुपर्नेमा यसो नगरेको पाइएको छ । यस्तै, ढल निकासका लागि पाइपलगायतको व्यवस्थापनमा पर्याप्त अनुगमन नभएको तथा दक्ष र प्राविधिक जनशक्तिको उपयोग नगरी काम गराउँदा कमसल काम हुन गएका देखिन आएको छ ।

नुवाकोटकै त्रिशूलीदेखि थुम्भु खोला सडक खण्डमा ठेकेदारको कमजोर व्यवस्थापनका कारण प्रगति सुस्त देखिन गएको पाइएको छ ।

प्रतिवेदनले रसुवाको बोगटीटार–भोर्ले–पच्र्याङ सडकखण्डमा ठेकेदारकै लापर्बाही देखिएको औंल्याइएको छ । यस सडकमा सडक निर्माणको जानकारी उपलब्ध गराउने बोर्ड नराखिएको, मापदण्डअनुसार ग्राभेल नगरिएको पाइएको छ । यसमा केन्द्रले ल्याबमा परीक्षण गरिएका भनिएका निर्माण सामग्रीमा समेत गुणस्तर नभएको भन्दै सडकमा राखिएको ग्राभेल हटाई पुनः अर्को ग्राभेल गर्नुपर्ने ठहर सर्तकता केन्द्रको प्राविधिक टोलीले गरेको छ ।

त्यस्तै, सम्बन्धित निकायलाई सडकको परियोजनाको प्रारम्भिक प्रतिवेदनलगायतका आधारमा कारबाही थाल्न सर्तकता केन्द्रले निर्देशन दिएको छ ।

यीलगायत मकवानपुरको कुलेखानी–हुमानभन्ज्याङ सडक निर्माणका क्रममा मापदण्डअनुरूप अधिकांश सडकमा भौगोलिक पक्षलाई ध्यान नदिएको, प्राविधिक पक्ष कमजोर रहेको तथा कम लागतमा काम सम्पन्न गराउन ठेकेदार कम्पनीले मनोमानी गरेको पाइएको छ ।

कमसल निर्माण सामग्री प्रयोग भएको, निर्माण सामग्रीको मात्रा नमिलाइएको तथा सडक निर्माण सम्पन्न नै नभई भत्किएको देखिएको छ । यसमा ठेकेदार कम्पनी मात्र नभई सम्बन्धित निकायसमेतको बेवास्ता तथा मिलेमतो रहेको पुष्टि भएको प्रतिवेदनले आंैल्याएको छ ।

यसैगरी रौतहटको गौर इनेवारी सडकखण्ड, धनुषाको जनकपुर खरियानी सडक, धनुषाकै पुष्पलपुर तारापाटी सडकखण्ड, भोजपुरको तिवारीभन्याङदेखि सानो डुम्मा, गुल्मीको सेउघादेखि अग्लुङफेदी, नवलपरासीको डाल्डालेदेखि कुमसोत सडकखण्डमा निर्माणाधीन कार्यमा समेत व्यापक लापर्बाही र बदमासी भइरहेको सर्तकता केन्द्रको प्राविधिक टोलीले जनाएको छ ।

केन्द्रको प्राविधिक टोलीका अनुसार कास्कीको छोरेपाटनदेखि भरतपोखरी सडकखण्ड, प्यूठानको खलंगादेखि अर्घाखाँची सडकखण्ड, धनुषाको बालुवाखण्ड पुल निर्माण कार्यमा समेत चरम लापार्बाही देखिएको पाइएको छ ।

सतर्कता केन्द्रले प्राविधिक परीक्षण सम्पन्न गरेका विभिन्न ९९ वटा निर्माण कार्यमा सशक्त अनुगमन हुन नसकेको ठहर गर्दै अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयलाई सुझाव दिएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij