२०८३ साउन ११ सोमबार

सरकारलाई सच्चिन प्रतिपक्षीको भूमिका निर्वाह : सांसद थापा, नागरिकता विधेयकमा दफावार छलफल जारी

ई आर्थिक    आइतबार, माघ २० २०७५
2.2K
Shares
सरकारलाई सच्चिन प्रतिपक्षीको भूमिका निर्वाह : सांसद थापा, नागरिकता विधेयकमा दफावार छलफल जारी

काठमाडौँ, २० माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुखले काङ्ग्रेसका तर्फबाट सांसद थापालाई बोल्न समय दिनुभएको थियो । सांसद थापाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले विघटनको सङ्घारमा पु¥याएको उल्लेख गर्दै प्रतिप्रक्षी दलको नियमित दबाबका कारण सरकार उक्त गल्ती सच्याउन बाध्य भएको बताउनुभयो ।

उहाँले पूर्वप्रधानमन्त्रीद्वय कोइरालाको नाम कसैले अस्पतालबाट हटाउने प्रयास गरे पनि उहाँहरूले नेपालको राजनीतिमा गरेको योगदान कसैले मेट्न नसक्ने चेतावनी दिनुभयो । सांसद थापाले प्रतिपक्षी दलसँग सरकारले गरेको व्यवहारका कारण आगामी दिनमा प्रतिपक्षीको भूमिकामा यथास्थितिमा रहने नसक्ने बताउनुभयो ।

डा गोविन्द केसी अनशनमा भएका बेला सरकारका तर्फबाट कुनै माग सुनुवाइ नगरी अनशन टुङ्गिएकोप्रति सरकारलाई बधाई दिँदै उहाँले डा केसीकै चिकित्सा शिक्षा क्षेत्रमा सुधारको अभियानले चिकित्सा शिक्षा अध्ययन गर्न रु एक करोड पुग्न लागेको शुल्क आधा कम भएको धारणा व्यक्त गर्नुभयो ।

डा केसीको यसअघिको अनशनका बेला स्वयं प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता कार्यान्वयन नहुँदा प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको उहाँले टिप्पणी गर्नुभयो । सांसद थापाले मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर हुनाका साथै हत्या हिंसा बलात्कार बढेको र अर्थतन्त्र सङ्कट उन्मुख भएको भन्दै जनतामा निराश छाएको बताउनुभयो ।

व्यापारीहरू ब्याज चर्काे भयो भनेर सडकमा आउँदासमेत सरकारले ठोस पहल गर्न नसकेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचार बढेको तथ्याङ्क सार्वजनिक भएको अवगत गराउनुभयो ।

नागरिकता विधेयकमा दफावार छलफल जारी

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा पनि ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक २०७५’ माथि दफावार छलफल जारी रह्यो । आजको बैठकमा नेपाली काङ्ग्रेसका गगनकुमार थापाले नागरिकता प्राप्ति गरेको एक वर्षभित्र थर सच्याउन चाहेमा सच्याउन सक्ने प्रावधान राख्न सुझाव राख्नुभयो ।

सोही पार्टीका सुजाता परियार, उमा रेग्मी र दिलेन्द्रप्रसाद बडूले संविधानको भावनाअनुसार नागरिकतासम्बन्धी विधेयक ल्याउन सुझाव दिँदै आमाको नामबाट नागरिकता प्राप्ति गर्न सहज बनाउनुपर्छ भन्नुभयो ।

नेकपाका रेखा शर्मा, विन्दा पाण्डे र यशोदा सुवेदीले शैक्षिक प्रमाणपत्रभन्दा जन्मदर्तालाई नागरिकता प्राप्तिको आधार बनाउन आफ्नो धारणा राख्नुभयो । समितिका सभापति शशी श्रेष्ठले नागरिकतासम्बन्धी संविधानको व्यवस्था र आमाको नामबाट नागरिकता प्राप्तिमा अझ सहज हुने तरिकाबाट विधेयक आउनेछ भन्नुभयो । विधेयकमाथिको दफावार छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij