२०८३ साउन ९ शनिबार

शेयर धितोमा १३ बैंकको १५८ अर्ब लगानी

ई आर्थिक    बिहिबार, माघ १७ २०७५
3.7K
Shares
शेयर धितोमा १३ बैंकको १५८ अर्ब लगानी
काठमाडौं । वाणिज्य बैंकहरूले शेयर धितोमा प्रवाह गरेको लगानी गत १ वर्षमा ७ प्रतिशतले बढेर रू. १ खर्ब ५८ अर्ब पुगेको छ । आर्थिक वर्ष (आव) २०७५/७६ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १३ ओटा बैंकले प्रवाह गरेको त्यस्तो लगानी त्यति पुगेको हो । बाँकी बैंक तथा वित्तीय संस्थाको लगानी समेत समावेश गर्दा धितोपत्रमा गएको कुल लगानी अझै धेरै हुने देखिन्छ ।

यद्यपि, कतिपय वाणिज्य बैंकले भने शेयर धितोमा कर्जा लगानी गरेका छैनन् । साधारणतया बैंकहरूले लगानीको विविधीकरण गर्न पूर्वाधार, हाइड्रो, पर्यटन तथा अन्य क्षेत्रहरू जस्तै दोस्रो बजारमा सूचीकृत धितोपत्रको जमानतमा पनि लगानी गर्छन् । यस प्रकारको लगानीले बैंकहरूसँग अल्पकालमा उपलब्ध पूँजी उपयोग गर्न आम्दानी बढाउन मद्दत गर्छ ।

गत आवको सोही अवधिको तुलनामा चालू आवको पहिलो ६ महीनामा त्यस्तो लगानी ७ प्रतिशतले बढेको छ । वित्तीय विवरण प्रकाशित भएका वाणिज्य बैंकहरूले कुल सम्पत्तिको ९ दशमलव ३३ प्रतिशत लगानी धितोपत्रमा गरेका छन् । तर, गत आवको सोही अवधिमा बैंकहरूले कुल सम्पत्तिको १० दशमलव ६६ प्रतिशत धितोपत्रमा लगानी गरेका थिए । हाल लगानीयोग्य रकमको अभाव र ओरोलो लागिरहेको शेयरबजारका कारण बैंकहरूले पनि धितोपत्रमा लगानी घटाएका हुन सक्छन् ।

धितोपत्रमा सबैभन्दा बढी लगानी गर्नेमा एभरेष्ट बैंक रहेको छ । यस बैंकले धितोपत्रमा रू. १८ अर्ब ५३ करोड बराबरको लगानी गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा यस बैंकको यो रकम ३८ प्रतिशतले बढेको छ । यस बैंकले कुल सम्पत्तिको ११ दशमलव ५३ प्रतिशत धितोपत्रमा लगानी गरेको छ । धितोपत्रमा सिटिजन्स् बैंक इन्टरनेशनलले सबै भन्दा कम लगानी गरेको छ । यस बैंकले रू. ७ अर्ब ४ करोड बराबरको रकम धितोपत्रमा लगानी गरेको छ । गत आवको तुलनामा चालू आवको सोही अवधिमा यो रकम १८ प्रतिशतले वृद्धि भएको हो ।

ग्लोबल आईएमई नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ र नेपाल एसबीआई बैंकको भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा यस प्रकारको लगानी घटेको छ ।

अभियानबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij