२०८३ साउन ९ शनिबार

ब्याजदर घटाउन व्यवसायी सडकमा

ई आर्थिक    मंगलबार, माघ १५ २०७५
11.1K
Shares
ब्याजदर घटाउन व्यवसायी सडकमा
माघ १५, २०७५, काठमाडौँ — सरकारको निर्देशनले पनि बैंकहरूले ऋणको ब्याजदर नघटाएपछि उद्योगी–व्यवसायी विरोध गर्न सडकमै उत्रिएका छन् । ब्याजदरको उच्च वृद्धिले लागत बढेपछि उद्योग व्यवसाय चलाउन अप्ठेरो भएको भन्दै विरोधका कार्यक्रमहरूसमेत घोषणा भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, जिल्लास्थित उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका संघसंस्थाहरूले विरोधका चरणबद्ध कार्यक्रम ल्याएका हुन् ।

‘विगतमा ब्याजदरको विषयमा आन्दोलनै गर्नुपरेको मैले अनुभव गरेको छैन,’ महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘बैंकहरू राज्यद्वारा संरक्षित भएकाले जोखिम कम छ । तर पनि उनीहरूको ध्याउन्न नाफा बढाउनमै केन्द्रित रहेपछि व्यवसायीहरू सडकमै आउन थालेका हुन् ।’

निरन्तर रूपमा ब्याजदर बढ्दा लगानी निरुत्साहित हुने र त्यसले मुलुकको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भएकाले नियन्त्रण गर्नुपर्ने माग महासंघले गरेको छ । बैंकहरूले हाल औसतमा १४ प्रतिशत ब्याज लिंदै आएका छन् । ‘विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट एकतर्फी रूपमा ऋणको ब्याजदर अत्यधिक वृद्धि भएकाले उद्योग–व्यवसाय क्षेत्रको लागत मूल्य बढेको छ । बढदो लागतले व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेको कुरा बारम्बार ध्यानाकर्षण गराउँदै आइएकै हो,’ महासंघले सोमबार विज्ञप्ति जारी गरी भनेको छ, ‘तर पनि ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने विषयमा कुनै प्रगति नभएकाले दबाबमा उत्रिनुपरेको छ ।’

वित्तीय बजारमा ब्याजदर वृद्धिको क्रम नरोकिएपछि नियन्त्रणका लागि सुझाव संकलन गर्न अर्थमन्त्रीले एक कार्यदल गठन गरेका थिए । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले ब्याजदर वृद्धि नियन्त्रण गर्न आधार दर गणना विधि परिमार्जन गर्न सुझाव दिएको थियो । सोही सुझावका आधारमा राष्ट्र बैंकले आधार ब्याजदर गणना विधि परिमार्जन गरी लागू गर्न निर्देशन दिएको छ ।

नयाँ विधिअनुसार आधार ब्याजदर गणना गर्दा सम्पत्तिको प्रतिफलबापत ०.७५ प्रतिशत जोड्न पाइँदैन । उक्त निर्देशनपछि सबै बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर ०.७५ प्रतिशतले घटेको छ । अर्कोतिर आधार ब्याजदर घटदा सबै ऋणको (नयाँ तथा पुराना) ब्याजदर घटाउनुपर्ने र बढदा बढाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । सोही निर्देशनअनुसार आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले सबै ऋणको ब्याज घटाउनुपर्ने हो । बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर घटाएका छैनन । केही बैंकले नयाँ ऋणको ब्याजदरमा कमी आएको जनाए पनि पुरानाको यथावत् नै छ ।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले त झन पुराना ऋणीको हकमा ब्याजदर नघटाउने र आधार दरमा आएको ०.७५ प्रतिशत प्रिमियममा गणना गर्न पाउनुपर्ने माग राख्दै राष्ट्र बैंकमा पत्र लेखेको छ । यसकारण विगतमा निक्षेपको ब्याजदर बढ्दा आधार दर बढेको भन्दै नयाँ पुराना दुवै ऋणको ब्याजदर बढाउने बैंकले अहिले ऋण घटाउनुपर्दा आनाकानी गरेको भन्दै उद्योगी व्यवसायीहरू आक्रोशित भएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट एकतर्फी रूपमा ऋणको ब्याजदर अत्यधिक वृद्धि भएका कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रको लागत मूल्य वृद्धि भई सञ्चालनमा कठिनाइ भएकाले आफूहरूको ध्यानाकर्षण भएको संघले

जनाएको छ ।

सरकारले नीति बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अहिलेको अवस्था आएको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।
‘नीति बनाइन्छ तर कार्यान्वयनमा जोड दिइँदैन । यही कारण मुलुकले धेरै वर्षदेखि समस्या भोग्दै आएको छ,’ उनले भने, ‘यही अवस्था रहिरहे यो समस्या तत्काल समाधान हुने सम्भावना छैन ।’ ब्याजदर वृद्धिको सबैभन्दा बढी मार उत्पादनमूलक उद्योगलाई परेको भन्दै उनले थपे, ‘नीति निर्माण तहमा उद्योग र व्यापारलाई समान रूपमा हेरिएको छ । यो ठीक भएन । उद्योगको प्रकृति दीर्घकालीन भएकाले सोही रूपमा प्राथमिकता दिनुपर्छ ।’

ब्याजदर वृद्धिको विरोधमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । ब्याजदर वृद्धि नियन्त्रण गरी लगानी प्रोत्साहन गर्ने खालको वातावरण बनाउन उनीहरूले माग गरेका छन् ।

चर्को ब्याजदर तत्काल नियन्त्रण हुनुपर्ने मागसहित मुलुकभरका उद्योग व्यवसाय क्षेत्र पनि आन्दोलित भइरहेको महासंघले जनाएको छ । ‘नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उठाएका सम्पूर्ण माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बैंकिङ ब्याजदरका विषयमा उद्योग–व्यवसाय क्षेत्रले बारम्बार उठाएका मागलाई तत्काल सम्बोधन गर्न जोड दिन्छ,’ विज्ञप्तिमा भनिएको छ । आधार ब्याजदरमा आएको कमीअनुसार ऋणको ब्याजदर घटेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । कर्जा निक्षेपबीचको ब्याज अन्तर करिब साढे ४ प्रतिशत नजिक झरिसक्नुले पनि ब्याजदर घटेको पुष्टि हुने उनको भनाइ छ । बजार माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने भएकाले मनपरी रूपमा बढाउन र घटाउन नसकिने उनले बताए । ‘उद्योगी–व्यवसायीको माग निक्षेपमा थोरै ब्याजदर दिऊ र सस्तोमा ऋण दिऊ भन्ने छ उनले भने ।
भैरहवामा प्रदर्शन

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । बैंकहरूले ब्याजदर ८ प्रतिशत कायम गर्नुपर्ने माग गर्दै सोमबार प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा ज्ञापनपत्र पनि बुझाएका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ब्याजदर घटाउन बारम्बार निर्देशन दिए पनि अटेर गरेर एकाधिकार कायम गरिरहेको आरोप उनीहरूको छ ।

बैंकले उद्योगी, व्यवसायीको घरदैलोमा गएर दिएको ऋणको ब्याज ७ प्रतिशतबाट वृद्धि गरेर १४ प्रतिशत पुर्‍याएको उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । ‘बैंकले ७ बाट १४ प्रतिशत ब्याज पुर्‍याउँदा उनीहरूमाथि कालोबजारीको मुद्दा किन नलाग्ने ?’ उनले भने, ‘बैंकलाई नियन्त्रण गर्ने नेपाल सरकार मातहतको राष्ट्र बैंकले के गरिरहेको छ भन्ने प्रश्नचिह्न खडा भएको छ ।’

समस्या समाधान नभए मुलुकभरका उद्योगी, व्यवसायीले उद्योग, व्यावसायिक प्रतिष्ठानको तला/चाबी राष्ट्र बैंकलाई बुझाउने चेतावनी दिएका छन् । स्थानीय विद्रोही चोकबाट निस्केको उद्योगी व्यवसायीको र्‍यालीले नगर परिक्रम गरी राष्ट्र बैंक सिद्धार्थनगर शाखामा पुगी ज्ञापनपत्र बुझाएका हुन् ।

नाकाबन्दी, आन्दोलनको संकट र उद्योगी/व्यवसायीमाथि समस्या आइपर्दा पनि बैंकहरू लगातार नाफामा गइरहनु ब्याजदरमा मनपरी प्रवृत्ति रहेको उनले बताए । ७ प्रतिशतमा दिएको ब्याज बढाएर बैंकले १४ प्रतिशतसम्म पुर्‍याउँदा पनि सरकारको कालोबजारी ऐन प्रयोग गरी कारबाही गर्नुपर्ने संगठनका महासचिव अनिलकुमार ज्ञवालीले बताए । व्यवसायीको ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोककुमार पौडेलले व्यवसायीको माग सम्बन्धित निकायमा पठाउने बताए । आफ्नो तहबाट कुनै निर्णयगर्न नमिल्ने र यो समस्या मुलुकका सबै स्थानमा भएको उनले बताए ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij