काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल समस्या समाधान गर्ने गरी एक्सन रुम बनाउने नयाँ प्रक्रिया थालेको छ । राष्ट्रिय गौरवका आयोजनालगायत विभिन्न महत्वपूर्ण विकास आयोजना प्रधानमन्त्रीबाटै अनलाइन मोनिटरिङ गर्ने लक्ष्यसाथ बनाउन लागिएको एक्सन रुमको पुरानो प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया थालिएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार एक्सन रुमअन्तर्गत टेलिप्रिजेन्स सिस्टम र सर्भिलेन्स सिस्टम गरी दुईटा सिस्टम बनाइनेछ । यसअघि सो सिस्टम निर्माणका लागि जिम्मेवारी पाएको कम्पनीले निर्धारित समयमा परफरमेन्स वन्ड पेस गर्न नसक्दा प्रधानमन्त्री कार्यालयले पुनः नयाँ प्रक्रिया थालेको हो । सो सिस्टमका लागि चीनस्थित हुवाएको नेपाली पार्टनर सीसीएस नेपाललाई छनोट गरिएको थियो ।
राष्ट्रिय गौरवका आयोजनालगायत विभिन्न महत्वपूर्ण विकास आयोजना प्रधानमन्त्रीबाटै अनलाइन मोनिटरिङ गर्ने लक्ष्यसाथ बनाउन लागिएको एक्सन रुमको पुरानो प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया थालिएको हो ।
प्रधानमन्त्री कार्यालयले मागेको प्राविधिक र आर्थिक प्रस्तावमा हुवाएको सीसीएस नेपालले अन्यभन्दा कम ५ करोड ४३ लाखको प्रस्ताव पेस गरेकाले सो कम्पनीलाई छनोट गरिएको थियो ।
प्रधानमन्त्री कार्यालयले सो कम्पनीलाई परफरमेन्स वन्ड पेस गर्ने समय पटक–पटक थप गर्दै अन्तिमपटक ३१ डिसेम्बर २०१७ सम्मको म्याद दिएको थियो ।
तर, निर्धारित म्यादमा वन्ड पेस गर्न नसकेपछि सीसीएस नेपालको प्रस्ताव रद्द गरी नयाँ प्रक्रिया थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवलगायतका महत्वपूर्ण आयोजनाको नियमित निगरानी कार्यालयमै बसेर गर्न सक्ने गरी सो सिस्टम बनाउन लागिएको हो ।
सरकारले अनलाइन मोनिटरिङ सिस्टम जडान गर्नुपर्ने भएकाले फास्ट ट्र्याकमार्फत एक्सन रुम बनाउने निर्णय गर्दै सोका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले प्रधानमन्त्रीको चाहनाअनुसार सो सिस्टम चाँडै बनाउनुपर्ने भएको र सीसीएस नेपालले ढिलो गर्न सक्ने देखिएकाले पुरानो प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया थालिएको जानकारी दिए ।
राजधानीबाट