काठमाडौं । मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकको उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्नुभयो ।
शाखा कार्यालय समुद्घाटन गर्दै मेयर महर्जनले बैंकिङ कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिनुभयो । बैंकले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु(याउन सफल बनोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनुभएको थियो । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने समेत उहाँले बताउनुभयो ।
बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र १४ शाखाहरु संचालनमा आई सकेका छन् भने इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङगे अड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जाकारी दिएको छ ।