रोशन राउत, काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचन सहितको साधारणसभा नजिकिदै जाँदा नेतृत्व र सञ्चालक समिति चयनको विषयले सहकारी क्षेत्रमा अत्याधिक चर्चा पाउन थालेको छ ।
बैंकको अध्यक्षमा बर्तमान अध्यक्ष रमेश पोखरेल र बैंकको निवर्तमान प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले उम्मेद्वारी दिने भएपछि बैंकको यो निर्वाचनले थप रौनक देखिएको हो । पोखरेल र उप्रेती दुबै एकै राजनीतिक आस्था भएका सहकर्मी हुन् । तर उनीहरुको गुट भने फरक भएको बुझिएको छ ।
सहकर्मीबीच नै प्रतिस्पर्धा हुने देखिएपछि सामाजिक सञ्जाल फेसबुकमा दुबै पक्षधरको प्रहारले अहिले दोहोरी नै चलिरहेको छ ।
पोखरेललाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशबप्रसाद बडाललगायतले साथ दिएका छन् भने बैंकका वर्तमान अधिकांश पदाधिकारीहरुले उप्रेतीलाई साथ दिइरहेको बुझिएको छ । अभियानका अन्य अभियान्ताहरु मध्ये केही खुलेर एक अर्कालाई समर्थन गरिरहेका छन् भने केहीले भित्री तयारी रहेको देखिन्छ ।
अध्यक्ष पद आफ्नो पक्षमा ल्याउन अहिले दबै पक्षले ‘साम–दाम–दण्ड भेद’ को ‘टुल्स’ प्रयोग गरिरहेका छन् । त्यस्तै कुटनीतिक र रणनीतिक चालहरुमा पनि दुबै पक्ष सक्रिय रहेका छन् । पोखरेलले राष्ट्र बैंक लगाएर उप्रेतीलाई उम्मेद्वारीबाट बञ्चित गर्ने र उप्रेतीले पनि पोखरेललाई उम्मेद्वारीवाट पछि हटाउने अनेत चालबाजीहरु चालिरहेको बुझिएको छ । यद्यपी पोखरेलको रणनीति भने असफल भएको बुझिएको छ । पछिल्लो समयमा उप्रेतीले चालेका रणनीति पनि असफल हुने देखिएको छ । दुबैका रणनीति असफल बन्दै गएपछि दुबै चुनाबी प्रतिस्पर्धामा देखिने संभावना बढेर गएको छ ।
बैंकका अध्यक्ष रमेश पोखरेलले एक कार्यकाल दोहो¥याउन चाहेको र निवर्तमान प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले पदबाट राजिनामा दिएर अध्यक्षको तयारी गरिरहेकाले पनि बैंकको यो निर्वाचन थप रोचक बनिरहेको हो ।
यतिवेला दुबैले आ–आफ्नै ढंगले प्रचार प्रसारलाई तीब्र पारेका छन् । यद्यपी एकजनाले उम्मेद्वारी फिर्ता लिई समझदारीको संभावना पनि त्यत्तिकै रहेको बुझिएको छ ।
जिल्ला सहकारी संघ काठमाडौंले संघका पूर्व अध्यक्ष के.बी. उप्रेतीलाई उम्मेद्वारको रुपमा अघि सारेको छ । आफ्नो आधिकारिक उम्मेद्वार के.बी. उप्रेती भएको भन्दै जिल्ला संघ जिताउन लागि परेको अध्यक्ष टेकप्रसाद चौलागाईले बताए । काठमाडौंमा उप्रेतीको मत बढि रहेको बताइएको छ ।

दुबै सहकर्मीको चर्को प्रतिस्पर्धीको तयारीसँगै अर्को प्रजातान्त्रिक पक्षधरका सहकारीकर्मीहरुले पनि यो निर्वाचन तयारीलाई नजिकबाट नियाली रहेको छन् । यो पक्षधरको पनि बैंकमा बलियो मत रहेको छ । यो पक्षधरले पोखरेललाई समर्थन गरे अध्यक्षमा निर्वाचित हुने निश्चित भएर बसेका उप्रेतीलाई हम्मे–हम्मे पर्ने सहकारी क्षेत्रमा चर्चा चलेको छ । तर आफूहरु सहमति र सहकार्यको पक्षमा रहेको प्रजातान्त्रिक पक्षधरका एक अगुवा सहकारीकर्मीले बताए । सहकारीमा दलगत उम्मेद्वारी भए आफूहरुलाई मान्य नहुने उनको भनाई छ ।
‘सहकारीमा जहिले र जुनै निकायमा पनि सहमति र सहकार्य हुनु पर्छ भन्ने हाम्रो जोड रहेको छ ।’ अगुवा सहकारीकर्मी गोविन्दप्रसाद शर्माले भने– ‘सहकारीमा विगतको परम्परा पनि यही हो, जसलाई हामीले निरन्तरता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
सहकारीमा देखिने यो निर्वाचनको सौन्दर्यलाई सबैले पालना गर्न उनले आव्हान गरे । प्रजातान्त्रिक पक्षधरका अर्का अगुवा युवा सहकारीकर्मी सीताराम काफ्लेले सहकारीमा सहमतिलाई नै जोड दिनुपर्ने बताए । सबैको सहमतिमा समानुपातिक प्रतिनिधित्व भए बैंकले राम्रो गति लिने उनको भनाई छ । ‘निर्वाचनको बेलामा तछाड मछाड गरेर जुनै गुट, उपगुट र समूहले अस्वस्थबीच हारजीत भए पनि बैंक सबैले मिलेर चलाउने हो ।’ उनले भने– ‘सबैखाले विचार र आस्थाको सामूहिक प्रतिनिधित्वमा नै हाम्रो जोड रहेको छ ।’

प्रजातान्त्रिक पक्षधरका अर्का प्रभावशाली अभियान्ताले भने पोखरेल र उप्रेती अध्यक्षमा प्रतिस्पर्धा गर्ने र सञ्चालक लगायतका अन्य पदहरुमा सबैलाई नसमेट्ने हो भने आफूहरुले सबै पदमा उम्मेद्वारी दिने बताए । सहकर्मी पोखरेल र उप्रेतीले उम्मेद्वारी दिए आफ्नो उम्मेद्वारलाई जित्न सहयोग मिल्ने उनको भनाई छ ।
त्यसो त दलगत उम्मेद्वारको विरोध गर्ने र स्वतन्त्र सहकारीकर्मीलाई नेतृत्वको जिम्मा दिइनु पर्छ भन्ने मान्यता राख्ने मतदाता पनि बैंकमा कम छैनन् । उनीहरुले सबै दलगत उम्मेद्वार अमान्य हुने बताएका छन् । स्वतन्त्र ढंगले बैंकलाई नेतृत्व गर्न सक्ने र व्यवसायिक योजनाका भएका निष्पक्ष व्यक्ति नै आफूहरुको साझा उम्मेद्वार भएको बताए ।
त्यसो त सहकारी बैंकको यो निर्वाचनमा अन्य रणनीतिहरु पनि उत्तिकै सक्रिय भइरहेको छ । सहकारीको केन्द्रीय हैसियत राख्ने बैंकको यो निर्वाचनमा राष्ट्रिय सहकारी महासंघ देखि अन्य केन्द्रीय सहकारी संघको पद बाँडफाँडका कारण पनि सहकारी बैंकको निर्वाचनलाई अलिक अलिक सहज हुने अनुमान गरिएको छ ।
सहकारी बैंकमा भाग नपुगका आकांक्षीहरुलाई महासंघ र अन्य केन्द्रीय संघमा स्थापना गर्ने कुराहरुले पनि माहोललाई अलि मत्थर गर्न सक्ने अनुमान गरिएको छ ।
पुस २१ र २२ गते हुने गइरहेको १५ औं वार्षिक साधारणसभाले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । बैंकमा रहेका १०,२१८ मतदाताले १५ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समिति चयन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै ७ वटा प्रदेशबाट १÷१ जना, ३३ प्रतिशत महिलासहित १४ जना सञ्चालकलाई यो साधारणसभाले चयन गर्नेछ ।
बैंकले आज मतदाता नामावली प्रकाशन गरिसकेको छ भने उम्मेद्वार मनोनयनपत्र दर्ता यही पुस २१ गते १ बजेदेखि २ः३० बजेसम्म तोकेको छ । त्यसैगरी बैंकले उम्मेद्वारको विरोधमा दाबी उजुरी, फिर्ता लिने पनि सोही दिनको समय पनि प्रकाशन गरिसकेको छ । बैंकको यो निर्वाचनको संयोजक अधिवक्ता रामचन्द्र सिंखडाले गरेका छन् ।