२०८३ साउन ९ शनिबार

सत्तारुढ दलका चार शीर्ष नेताले सचिवालय बैठक किन गरे बहिष्कार ?,  मकै र चिया खाएर पर्खिएका थिए नेता

ई आर्थिक    आइतबार, मंसिर २३ २०७५
5.3K
Shares
सत्तारुढ दलका चार शीर्ष नेताले सचिवालय बैठक किन गरे बहिष्कार ?,  मकै र चिया खाएर पर्खिएका थिए नेता

-बैठक बोलाएर पटकपटक ढिला गरेको र आफ्नो अपमान गरेको भन्दै नेकपाका चार सचिवालय सदस्यद्वारा बैठक बहिष्कार

-पाँचजनाको बैठकद्वारा आगामी २९ मंसिरमा स्थायी समिति बैठक बोलाउने निर्णय

– मकै र चिया खाएर फर्किए नेता

शुरोजंग पाण्डे, काठमाडाैं : पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् ।

‘३ बजे बैठक बोलाइएको थियो, तर साढे ३ बज्दासम्म पनि उहाँहरू (अध्यक्षद्वय) बैठक कक्षमा आउनुभएन, हामीलाई कुनै सूचना पनि गरिएन, १५ मिनेटभन्दा बढी नपर्खिने पहिल्यै गरिएको निर्णय पालना नगरिएकाले चारजना उठेर हिँडेका हौँ,’ वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकासँग भने, ‘नियम र निर्णयहरू पालना नगर्ने बेथितिका विरुद्ध हामीले कदम चालेका छौँ । बैठक बोलाउनेहरूले समय, नियमको ख्याल गर्नुपथ्र्यो, बोलाइसकेपछि बैठक समयमै राख्नुपर्थ्यो ।’

९ सदस्यीय सचिवालयमा ४ जना शीर्ष नेताले बैठक बहिष्कार गरेसँगै अध्यक्षद्वय ओली र प्रचण्डसहित ५ जनाको बहुमतले बैठक संचालन गरेको थियो । महासचिव पौडेल, सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेलले बैठक संचालनका लागि अध्यक्ष ओली र प्रचण्डलाई साथ दिएका थिए । बैठकले २९ मंसिरमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

 मकै र चिया खाएर पर्खिएका थिए नेता
३ बजे बोलाइएको बैठकमा सबैभन्दा पहिले वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय २ बजेदेखि अर्को कक्षमा परामर्शमा रहेको जानकारी गराएका थिए । केहीबेरमा दुई अध्यक्ष आउने बताएर पौडेल कम्प्युटरमा प्राविधिक कामका लागि अर्को कक्षतिर गए । त्यहीबीचमा क्रमश : झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’ पुगेका थिए । अध्यक्ष आउन ढिलाई भएपछि नेताहरूलाई चिया र मकैको व्यबस्था गरिएको थियो । ढिलो हुँदै गएपछि उनीहरूले बैठकमा कुराउने र स्थगित गर्ने कार्यशैलीमा कुनै परिवर्तन नआएको भन्दै सामूहिक रुपमा बहिष्कार गर्ने सल्लाह गरे । आधा घण्टा ढिलाई भएपछि चार नेताहरू बाहिरिए । बैठक कक्षमा रहेका बादल भने बाहिरिएनन् । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल भने चार नेता बाहिरिएपछि मात्र बैठक कक्षमा पुगेका थिए ।

समयमै बैठक सुरु गर्ने साउनको निर्णय उल्लंघन
नेकपा एकतापछि बैठक पटक–पटक स्थगित गर्ने, नेताहरूलाई कुराउने कार्यशैली ठीक नभएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन पहिलो साता बसेको सचिवालय बैठकमा जोडदार आवाज उठाएका थिए । यस विषयमा अध्यक्ष ओली र श्रेष्ठबीच भनाभनसमेत भएको थियो । आफूले उठाएको त्यही विषयमा साउनमै दुई पटक छलफल भएको स्मरण गर्दै श्रेष्ठले भने,‘तोकिएको समयभन्दा बैठक बस्न एक/डेढ घण्टा ढिलो हुन थालेपछि समयको पालना गर्ने, १५ मिनेटभन्दा ढिलाई नगर्ने विषयमा दुई पटक छलफल गरेर अबका दिनमा त्यसो नगर्ने समझदारीसहित पार्टीले निर्णय गरको थियो । तर, त्यसैले त्यो निर्णयको गम्भीरतापूर्वक पालना गराउन, पार्टी संचालनको विधि, प्रक्रियाबारे नेतृत्वलाई सचेत पारेर व्यबस्थित र विधिसम्मत ढंगले संचालन गराउनका लागि नै हामीले निर्णय लिएका हौं ।’

पार्टी संचालनमा विधि र प्रक्रियाबारे प्रश्न उठाउँदै बैठक बहिष्कार गरिएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको दाबी छ । ‘बैठकका लागि १५ मिनेटभन्दा बढि नपर्खिने हामीले पहिल्यै निर्णय गरेका थियौं, त्यसैले सल्लाह गरेरै हामी चार जना उठेर हिँडेका हौं,’ उनले नयाँ पत्रिकासँग भने ।

अर्को सचिवालय बैठक अनिश्चित
नेकपा सचिवालयमा केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्यूरो गठन, जिल्ला र जनसंगठनहरूको एकीकरण, सरकार र पार्टी संचालनसम्बन्धि समीक्षा, संसद संचालन, पार्टी कार्यालय व्यबस्थापनसहित झण्डै एक दर्जन एजेण्डा थाती छ । स्थायी समितिमा अनुमोदन नगरि प्रदेश सदस्यको नाम सार्बजनिक गरिएकोमा नेपालसहित चार नेता असन्तुष्ट छन् । तर, शनिबार ५ नेताको निर्णयले स्थायी समिति आह्वान भएपछि सचिवालय बैठक बस्ने÷नबस्नेबारे नेताहरू नै अनभिज्ञ छन् ।

बहिष्कार गरेका नेताहरूले थाँती रहेका सबै एजेण्डाको निर्णय एकै पटक स्थायी समितिमा प्रस्ताव हुने आशंका गरेका छन् । तर, महासचिव पौडेलले भने यसबीचमा सचिवालय बैठक बस्ने÷नबस्ने टुंगो गर्न नसकिने बताए । ‘हामीले स्थायी समिति २९ गतेका लागि आह्वान गरेका छौं, पौडेलले भने,‘यसबीचमा सचिवालय बस्न पनि सक्छ, नबस्न पनि सक्छ, आवश्यकताले निर्धारण गर्ने कुरा हो ।’

 झलनाथ प्रधानमन्त्री हुँदा गेटबाटै फर्किएका ओली बालुवाटार गएनन्


०६८ मा तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका वेला अपमान भएको भन्दै वर्तमान अध्यक्ष केपी ओली बालुवाटारको प्रवेशद्वारबाटै बाहिरिएका थिए । खनालले बोलाएको स्थायी समिति बैठकमा भाग लिन ओली बालुवाटार गेट पुग्दा सुरक्षाकर्मीले भित्रबाट हजुरको नाम आएको छ कि छैन, बुझ्छौँ भन्दाभन्दै १ मिनेट नपर्खी बाहिरिएका थिए । ओलीले अपमान भयो भन्दै बाहिरिएपछि उनीसँगै रहेका वर्तमान महासचिव पौडेल पनि फर्किएका थिए । यसबारे बल्खुस्थित तत्कालीन एमालेको कार्यालयमा स्थायी समिति बैठकमा समीक्षा हुँदै त्रुटि भएको स्वीकार भयो । तर, त्यो घटनापछि खनाल प्रधानमन्त्री रहुञ्जेल ओली बालुवाटार गएनन् ।

अहिलेसम्म स्थायी समिति  बैठक पाँचपटक स्थगित

पार्टी एकतापछि नेकपाको सचिवालय र स्थायी समिति बैठक पाँचपटक स्थगित भएको छ । पछिल्लोपटक शुक्रबार बालुवाटारमा ३ बजे बोलाइएको सचिवालय बैठक अचानक स्थगित भएको थियो । तर, त्यसको सूचना १५ मिनेटअघि मात्र दिएपछि शीर्ष नेताहरू आक्रोशित भएका थिए । शनिबार पनि आधा घन्टा कुराएर कुनै कारणबारे सूचना नगरिएको भन्दै नेपाल, खनाल, गौतम र श्रेष्ठ बैठककक्षबाट बाहिरिएका थिए । नेता वामदेव गौतमले पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका र सोसरहका नेताहरूलाई ३ घन्टाभन्दा बढी कुराउने गरेकाले पार्टी सञ्चालनको शिक्षा दिन बैठक बहिष्कार गरेको बताए ।

के आपत् आइलाग्यो र उहाँहरू बाहिरिनु भयो, बुझ्नै सकेनौं : विष्णु पौडेल, महासचिव


सचिवालय बैठक ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला आइपुग्नुहुन्छ भन्ने जानकारी गराएर म काममा अर्को कक्षतिर लागेँ । त्यसबीचमा अरू कमरेडहरू पनि आइपुग्नुभो । उहाँहरू सवा ३ बजेसम्म बस्नुभो र बाहिरिनुभो । उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ । एक्कासि असिना बर्सेजस्तो, आपत् परेजस्तो किन बाहिरिनुपर्‍यो ? कारण बुझ्न सकिएको छैन ।

खासमा अध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुर जिल्लाबाट ०६४ मा प्रत्यक्ष निर्वाचित सांसद मणि खम्बू भेट्न आउनुभएको थियो । लामो समय जनयुद्ध र जनआन्दोलनमा योगदान गर्नुभएको उहाँ क्यान्सरपीडित एकल महिलासमेत हुनुहुन्छ । प्रधानमन्त्री र अध्यक्षले उहाँसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएर सरकार र पार्टीले गर्न सक्ने सहयोगबारे कुराकानी गर्दा १५ मिनेट ढिलो भएको सत्य हो । तर, बैठककक्षमा आउँदै गर्दा उहाँहरू बाहिरिसक्नुभएको थियो ।

 बैठक पनि प्रधानमन्त्रीनिवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ : वामदेव गाैतम

दुवै अध्यक्षले बैठकमा फर्किन फोन गर्नुभएको थियो, तर हामी फर्किएनौँ

तपाईंहरू चारजना नेताले किन बैठक छाडेर हिँड्नुभो ?
हामी किन हिँड्यौँ, सबैले देखेका छन् । धेरै कारण छन् । हामीले यो पार्टीलाई राजनीतिक पार्टीका रूपमा कसरी सञ्चालन गर्नुपर्छ भन्ने शिक्षा दिनका लागि बैठक हुनुभन्दा पहिल्यै निस्किएर हिँडेका हौँं, बैठक बहिष्कार गरेका होइनौँ । बैठक बोलाउने, ३ घन्टासम्म कुराएर बैठक स्थगित गर्ने, दुवैजना अध्यक्ष उपस्थित नहुँदा बैठकै नबस्ने, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीका कारण बैठक सरेकोस¥यै हुने, अब त्यो परम्परा तोड्नुपर्छ भनेर बैठक बहिष्कार गरेका हौँ ।

नौमध्ये चार नेताले बैठकै छाडेर हिँडेपछि अध्यक्षहरूले सम्पर्क गर्नुभएन ?
मलाई चाहिँ पछि दुवै अध्यक्षले फोन गरेर फर्किनुस् भन्दै बोलाउनुभयो । तर, हामी कोही पनि गएनौँ । मैले फर्किन्नँ भन्ने जवाफ फर्काएँ । हामी निस्किएपछि ५ जनाको बैठकले २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गर्नुभएछ ।

तपाईंहरू हिँडे पनि पाँचजनाको बहुमतले निर्णय भएको छ, त्यसले के अर्थ राख्छ र ?
आजसम्म हाम्रो पार्टीमा दुईजना अध्यक्षमध्ये एकजना उपस्थित नहुँदा बैठक नबस्ने, अनौपचारिक भेला मात्रै गर्ने परम्परा थियो । अब त्यो परम्परा तोडियो । अबदेखि दुईमध्ये एक अध्यक्ष मात्र उपस्थित हुँदा पनि बैठक बस्छ, पार्टी सञ्चालन हुन्छ । हामी नै बैठक बसाउँछौँ । कोरम पुगेको स्थितिमा बैठक बस्छ, निर्णय गर्छ । हामीसँग बदला लिनकै निम्ति उहाँहरूले निर्णय गरेको भए पनि पार्टीलाई अगाडि बढाउने सिलसिलामा सकारात्मक पहल नै भएको छ भन्ने हामीले बुझेका छौँ । यसले पार्टीलाई राम्रै गरेको छ ।

त्यसो भए बैठकको निर्णय मान्नुहुन्छ ?
किन नमान्ने ? कोरम पुगेर गरेको निर्णय मानिन्छ नि । हाम्रै बारेमा या मेरै बारेमा पनि जे निर्णय बैठकले गरेको छ, त्यो मान्छु, तर निर्णय विधिवत् ढंगले गरिएको हुनुपर्छ । अबका दिनमा प्रधानमन्त्रीले समय निकाल्न सक्नुभएन भने बाहिर रहनुभएका अध्यक्षको नेतृत्वमा बैठक बस्छ, निर्णय गरिन्छ । हाम्रो उपस्थितिविनाको निर्णयले यो परम्परा बसालेकाले अब पार्टी सकारात्मक ढंगले अघि बढ्छ ।

यो प्रकरणले पार्टीमा के संकेत गरेको छ ?
चारजनाले बैठक बहिष्कार गरेको होइन, उहाँहरूको शैलीलाई बहिष्कार गरिएको हो । अध्यक्ष पदका कारण उहाँहरू वरिष्ठ हुनुहुन्छ । आन्दोलनको हिसाबले, अरू धेरै हिसाबले उहाँहरूको समकक्षी कमरेडलाई ३ घन्टासम्म कुराइएको इतिहास छ । मुख्य कुरा अबदेखि त्यस्तो स्थिति समाप्त भएको छ । कसैलाई कुराउनुहुने छैन, समयमा आउनुहुनेछ, त्यो परम्परा बस्छ ।

सरकारीनिवास बालुवाटारमा बैठक बसेकोमा पनि आपत्ति हो ?
शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ । तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्रीनिवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो । आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु । प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ, प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्रीनिवासमा बैठक बस्छ, अनि अनेक हिसाबले त्यो प्रभावित हुने स्थिति पार्टी कार्यालयमा बस्दा हुनेछैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ । प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्छ ।

प्रदेश कमिटी सदस्यहरूको नाम सार्वजनिकबारे तपाईंको के प्रतिक्रिया छ ?
त्यसरी नाम सार्वजनिक गर्नै हुन्नथ्यो । हामी स्थायी समितिमा दृढतापूवर्क मत राख्छौँ । त्यो परम्परा तोड्नुपर्छ । स्थायी समितिले अधिकार प्रत्यायोजन गरेको अवस्थामा मात्रै सचिवालयले निर्णय गर्न पाउँछ । स्थायी समितिले नै निर्णय गर्नुपर्छ भन्ने कुरा राखिन्छ । सार्वजनिक गरिएको नामको सूची स्थायी समितिबाट अनुमोदन गर्नुपर्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij