२०८३ साउन १० आइतबार

व्यवसायमा राणा घराना

ई आर्थिक    शनिबार, मंसिर १५ २०७५
31.4K
Shares
व्यवसायमा राणा घराना
नवीन अर्याल, काठमाडाैं : एक शताब्दीभन्दा लामो समय शक्तिकेन्द्र बनेका राणाहरूको आवासीय क्षेत्र काठमाडौंको केन्द्रबिन्दु थापाथली ‘हाइट’ थियो । तर, २००७ सालमा जहानियाँ राणा शासन ढलेसँगै सहरकै ‘प्राइम लोकेसन’ थापाथलीबाट राणाहरू सत्ताबाट विस्थापित भएजस्तै विस्थापित हुँदै गए । त्यसो त व्यापारिक केन्द्र दरबारमार्ग क्षेत्र पनि राणा परिवारकै कब्जामा थियो । तर, अहिले दरबारमार्गको उपस्थिति पनि न्यून छ । दरबारमार्गको लालदरबारमा राधेश्याम सर्राफले याक एन्ड यति होटेल चलाइरहेका छन् । बलराम शमशेरको हात्तीसारस्थित दरबारमा मायाम्यानोर होटेल खुलेको छ । पर्यटन व्यवसायी कर्ण शाक्यले दरबार किनेर सुरुमा निजी निवास बनाए, पछि होटेल खोले । ठमेलको काठमाडौं गेस्ट हाउस र शंकर होटेल पनि राणाकै दरबार हो । प्रजातन्त्र आएपछि सरकारले राणाका अधिकांश निजी दरबार अधिग्रहण गरेर सरकारी कार्यालय राख्यो । राणाकै अधीनमा रहेका केही दरबार भने उनीहरू आफैँले बिक्री गरे ।

सत्ताबाट विमुख भएपछि कतिपय राणाहरू मुलुक नै छाडेर बाहिरिए । तर, कर्ममा विश्वास गरेर उद्यम व्यवसायमा संलग्न भएकाहरू भने अहिले पनि ‘हाई प्रोफाइल’ जीवन बिताइरहेका छन् । प्रभाकर शमशेर राणा मुलुककै प्रतिष्ठित व्यवसायीमा पर्छन् । उनी केही वर्षयता राज्यलाई सबैभन्दा बढी कर बुझाउने व्यक्तिका रूपमा सम्मानितसमेत हुँदै आएका छन् । त्यस्तै हिमालय शमशेर, कपिल राणा, अमिर राणा, विकास राणा, असित राणा, रुक्मशमशेर राणा पनि व्यापार व्यवसायमा राम्रैसँग जमिरहेका छन् । व्यापार व्यवसाय राणाहरूको पारिवारिक विरासत भने होइन । अधिकांश व्यवसायी पहिलो पुस्ताका हुन् । प्रभाकर, हिमालय पहिलो पुस्ताकै हुन् । उनीहरूका छोराहरूले व्यवसायलाई निरन्तरता दिइरहेका छन् । विकास राणा आफैँले व्यवसाय खडा गरेका हुन् । बुबा नूरप्रतापले जुत्ताको व्यवसाय सुरु गरे, छोरा अमिरले उचाइमा पु-याउँदै छन् ।

सिद्धार्थशमशेर राणा : अध्यक्ष, सिप्रदी ट्रेडिङ प्रालि

तत्कालीन अधिराजकुमार हिमालय विक्रम शाहको लगानीमा सोल्टी होटेल सञ्चालनमा आयो । हिमालयकी श्रीमती प्रिन्सेप प्रभाकर शमशेर राणाकी दिदी थिइन् । भिनाजुले होटेल खोल्ने भएपछि प्रभाकर पनि पार्टनर बनेर काम गर्न कस्सिए । सोही होटेलबाट व्यावसायिक यात्रा सुरु भएको थियो, प्रभाकर शमशेर परिवारको ।

प्रभाकरको पाँचतारे सोल्टी होटेल, सूर्य नेपाल, सिप्रदी ट्रेडिङ, सिप्रदी अटो पार्टस्, सिप्रदी अर्थमुभर्स, हाइड्रोपावर, ट्राभललगायतमा लगानी छ । प्रभाकरको परिवार ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता हो । सिप्रदी ट्रेडिङ भारतीय टाटा मोटर्सको नेपाली विक्रेता हो । सिप्रदी ट्रेडिङको मात्र वार्षिक कारोबार ३० अर्ब हाराहारी छ ।

प्रभाकर परिवार मुलुककै प्रतिष्ठित व्यावसायिक घराना हो । लगातार चार वर्षदेखि सिप्रदी ट्रेडिङ व्यापारव्यवसायतर्फ उत्कृष्ट करदाता बन्दै आएको छ । प्रभाकरका छोरा सिद्धार्थ (सिप्रदी ट्रेडिङका अध्यक्ष) लगातार पाँचौँपटक सबैभन्दा बढी व्यक्तिगत आयकर बुझाउने करदाता बनेर सम्मानित भइरहेका छन् । त्यस्तै यो परिवार संलग्न सूर्य नेपाल सबैभन्दा बढी कर बुझाउने कम्पनी बनिरहेको छ । प्रभाकरका छोराहरू सिद्धार्थ र सौर्य शमशेर दुवैजना व्यवसायमा संलग्न छन् । उनले रविभवनमा पाँचतारे लक्जरी होटेल बनाउँदै छन् । ठूलो लगानी गरेर बनाउन लागेको होटेलमा ८० कोठा हुनेछन् । यस्तै, बर्दियामा ६० बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालनको तयारी भइरहेको छ ।

 विकास राणा (वायुसेवा)

एक समय विकास राणा सेनाका पाइलट थिए । सेनाको जागिर छाडेर फिस्टेल एयरमा लगानी गरेका राणा उड्डयन व्यवसायमै रमाइरहेका छन् । उनको समिट एयरमा पनि लगानी छ । रियल स्टेटमा पनि लगानी गरिरहेका छन् । उनका छोरा अभिनव राणा इटालियन प्रिमियम बाइक डुकाटी बिक्री गर्छन् ।
विकास राणा शिखर इन्स्योरेन्सका संस्थापक लगानीकर्ता हुन् । धेरै समय शिखर इन्स्योरेन्सको अध्यक्ष पनि भए । उनको पर्यटन, वित्तीय क्षेत्र, अटोमोबाइल्स, रियल स्टेटलगायत क्षेत्रमा लगानी छ । व्यापार व्यवसाय उनको पारिवारिक विरासत थिएन । सबै व्यवसाय संघर्ष गरेरै स्थापित गरेका हुन् । उनको व्यवसायमा छोराले पनि साथ दिइरहेका छन् ।

 हिमालयशमशेर राणा  : हिमालयन बैंक

नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाले पाकिस्तानी बैंकसँग मिलेर हिमालयन बैंक स्थापना गरे । यो बैंक सन् १९९३ मा स्थापना भएको हो । यो ‘क’ वर्गको स्थापित बैंक हो । अहिले हिमालयन बैंकमा हिमालयका छोरा अशोक राणा प्रमुख कार्यकारी अधिकृत छन् ।

यसअघि हिमालयको गोर्खा ब्रुअरीमा लगानी थियो । तीन वर्षजति चलाएपछि बिक्री गरेको अशोक बताउँछन् । ‘बुबाकै अगुवाइमा सन् १९८९ मा गोर्खा ब्रुअरी सुरु भयो,’ उनी भन्छन्, ‘स्थापित बनाएर छाडेका हौँ ।’ तत्कालीन अवस्थामा हिमालय शमशेर मुख्य लगानीकर्ता थिए । गोर्खा ब्रुअरीमा खेतान ग्रुप र दुईवटा विदेशी कम्पनीको पनि लगानी थियो । अहिले हिमालय शमशेर गोर्खा ब्रुअरीमा छैनन् । तर, उनले स्थापित गरेको कम्पनी देशलाई अर्बौं रुपैयाँ कर बुझाउने कम्पनी बनेको छ । यो परिवारको आइएलएफसी फाइनान्समा पनि लगानी थियो । त्यो कम्पनी सिभिल बैंकसँग मर्ज भइसकेको छ ।

हिमालयशमशेर अर्थसचिवसमेत भएका थिए । उनले २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको भूमिका निर्वाह गरे । पछि, नेपाल राष्ट्र बैंक खुलेपछि पहिलो गभर्नर बन्ने मौका पाए । राजा महेन्द्रले सत्ता हातमा लिएपछि गभर्नर पद खोसिएको थियो ।

 सिर्जना राणा : प्रबन्ध निर्देशक, अन्नपूर्ण होटेल

दरबारमा हुने शुभकार्यमा आउने पाहुना राख्न गतिलो होटेल थिएन । लक्जरी होटेलको आवश्यकता खड्किएको थियो । तत्कालीन अधिराजकुमारी हेलेन शाहको अगुवाइमा सन् १९६५ तिर दरबारमार्गमा पाँचतारे होटेल अन्नपूर्ण सञ्चालनमा आयो । यो मुलुककै पहिलो पाँचतारे होटेल हो ।

हेलेन शाहका माइली छोरीका छोरा कपिल राणाले अन्नपूर्ण होटेलको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । कपिल सात वर्षको उमेरदेखि नै दरबारमा हजुरआमा (हेलेन शाह)को रेखदेखमा हुर्किएका थिए । कपिलसँग विवाह गरेपछि दरबारमा बुहारी बनेर भित्रिएको सिर्जना राणा बताउँछिन् ।
६० कोठाबाट सुरु भएको होटेलमा अहिले १५० कोठा छन् । सिर्जना राणा अन्नपूर्णको क्षमता अभिवृद्धि गर्ने सोचमा छिन् । पोखराको फेवाताल किनारामा फिस्टेल लज सञ्चालनमा छ । प्रिमियम लजको व्यवस्थापन कपिल राणाले नै गर्दै आइरहेका छन् । चितवनको जगतपुरमा पनि लक्जरी सुविधायुक्त जगतपुर लज सञ्चालनमा छ । लजमा ७ वटा साउथ अफ्रिकन टेन्ट र २० वटा कोठा छन् ।

 

असित राणा (स्नेहा होटेल)

पृथुशमशेर राणाले ०३५ मा नेपालगन्जको आफ्नो पुख्र्यौली घरलाई ६ कोठाको होटेलमा रूपान्तरण गरेका थिए । अहिले स्नेहा होटेल ६० कोठाको भइसकेको छ । छोरा असित शमशेर राणाले होटेल चलाइरहेका छन् । तीनतारे स्नेहाको क्षमता अभिवृद्धि गर्ने काम जारी छ । पृथु शमशेरको ०२९ देखि नै बर्दियामा सुगर मिल सञ्चालनमा थियो । मुलुकमा द्वन्द्व सुरु भएपछि बन्द भयो । असितको व्यवसायमा भवानी राणाले साथ दिइरहेकी छिन् । अहिले भवानी निजी क्षेत्रको गरिमामय संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष छिन् । उनको ट्राभल, कृषि, उत्पादन र व्यापारमा लगानी छ । भवानी भन्छिन्, ‘हामी हेल्थ प्रोडक्ट उत्पादनमा गइरहेका छौँ, ट्याक्टरलगायतको व्यापारमा पनि संलग्न छौँ ।’ बर्दियाको ठाकुरद्वारामा रहेको ४ बिघा जमिनमा होटेल खोल्ने तयारी छ ।

अमिर राणा गोल्डस्टार जुत्ता
नूरप्रातप राणाले स्थापित गरेको गोल्डस्टार जुत्ता मुलुककै प्रतिष्ठित ब्रान्ड बनेको छ । पाल्पाको भैरवस्थान जन्मिएका नूरप्रतापले काठमाडौं आएर गोल्डस्टार जुत्ता उत्पादन सुरु गरेका हुन् । सन् १९९० देखि उत्पादन सुरु भएको गोल्डस्टार जुत्ता भारतीय र नेपाली ग्राहकमाझ लोकप्रिय छ । नूरप्रतापले ठूलो संघर्ष गरेर व्यवसाय स्थापित गरेका थिए । छोरा अमिर राणाले बुवाको व्यवसायलाई उचाइमा पु-याउने काम गरिरहेका छन् । नूरप्रतापले सुरुमा चप्पल उत्पादन गरे, अनि जुत्तामा प्रवेश गरेका थिए । उनले सन् १९८० मा चप्पल उत्पादन सुरु गरे, एक समय हवाई चप्पल (हात्ती छाप)ले नेपाली बजार ततायो । अहिले गोल्डस्टार जुत्ताले बजार तताइरहेको छ । हेटौँडाबाट गोल्डस्टार जुत्ता उत्पादन सुरु भएको थियो । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)बाट पनि जुत्ता उत्पादनको तयारी भइरहेको छ । नेपाली उत्पादन गोल्डस्टार जुत्ता विभिन्न मुलुक पुग्छ । गोल्डस्टारको मुख्य बजार छिमेकी मुलुक भारत हो । बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटानलगायत मुलुकमा पनि गोल्डस्टार पुगेको छ । भैरहवास्थित उद्योगबाट उत्पादन सुरु भएपछि निर्यात बढ्ने विश्वास कम्पनीको छ ।

 रुक्मशमशेर राणा (डाबर नेपाल)

रुक्मशमशेर राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन् । उनी डाबर नेपालको प्रबन्ध निर्देशक छन् । डाबर नेपाल भारतको बहुर्राष्ट्रिय कम्पनी हो । डाबर नेपाल निर्यातकर्तामध्ये राज्यलाई सबैभन्दा बढी कर बुझाउनेमा दरिँदै आएको छ । रुक्म शमशेर भारतका लागि पूर्वनेपाली राजदूतसमेत हुन् । साथै, उनले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

रुक्म शमशेर वरिष्ठ राजनीतिज्ञ सुवर्ण शमशेरका छोरा हुन् । नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने सुवर्ण हुन् । तत्कालीन अर्थमन्त्री सुवर्णले २००८ सालका लागि बजेट ल्याएका थिए । उनी २०१५ सालमा १ वर्ष देशको प्रधानमन्त्री भएका थिए । राणा परिवारमा जन्मिएर राणा शासनविरुद्ध लागेका सुवर्णका तीन छोरा छन् ।

 रौनकशमशेर जबरा (त्रिशारा रेस्टुरेन्ट)

रौनकशमशेर जबराले त्रिशारा ब्रान्डमा रेस्टुरेन्ट चलाइरहेका छन् । लाजिम्पाट, पोखरा र दरबारमार्गमा त्रिशारा फैलिसकेको छ । नेपाली रेस्टुरेन्ट क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल त्रिशारामा गत हप्ता पूर्वराजा ज्ञानेन्द्र शाहको पारिवारिक जमघट भएको थियो । रौनकले अरुणकृष्ण श्रेष्ठ र शोभनवीर मालाकारसँग मिलेर त्रिशारा रेस्टुरेन्टमा हात हालेका हुन् । लन्डनबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्य्राजुएसन गरेका रौनकले लाजिम्पाटस्थित पैतृक जग्गामा सन् २०१० मा त्रिशारा रेस्टुरेन्ट खोलेका हुन् । त्रिशारा रेस्टुरेन्टमा ग्राहकको भीडभाड लाग्छ । शुक्रबार रेस्टुरेन्ट जानका लागि पहिल्यै टेबल बुकिङ गर्नुपर्छ । त्रिशारा देशकै हाई प्रोफाइल जमघट हुने रेस्टुरेन्ट बनेको छ ।

विराट र वरुणशमशेर (होटेल बबरमहल भिलाज)

बबरमहलमा हजुरबुवाकै पालाको जग्गा थियो । हजुरबुवा आदित्य शमशेरले जोडेको जग्गाामा दुई नातिहरू विराट र वरुणले लक्जरी होटेल बबरमहल भिलाज सञ्चालनमा ल्याएका छन् । विराट र बरुण दुई भाइ बबर शमशेरका खनाती हुन् । हजुरबुवा आदित्यले बबरमहलमा २१ रोपनी जग्गा जोडेका थिए । सोही जग्गाको एउटा भागमा बुवा गौतम शमशेरले हेरिटेज मल बनाए । विराट भन्छन्, ‘मलबाट भाडा उठाउने काम मात्र हुन्छ ।’ सोही जग्गामा विराट र बरुणले भूकम्पपछि बबरमहल भिलाज सञ्चालनमा ल्याएका हुन् । अहिले होटेलमा १३ कोठा छन् । चार महिनाभित्र २१ कोठा पु-याउँदै छन् । होटेल पूर्णतया हेरिटेज डिजाइनमा छ । ‘पहिला देश चलाउने खलक बल्ल व्यापारमा छिरेका छौँ,’ विराट भन्छन्, ‘अब देश हाँक्ने उद्यम व्यवसायबाटै हो, मुलुकमा रोजगारी सिर्जना गर्ने पनि निजी क्षेत्रले नै हो ।’

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij