२०८३ साउन ९ शनिबार

चिच्चाएर वर माग्न सत्यवती मेलामा घुँइचो

ई आर्थिक    बुधबार, मंसिर ५ २०७५
7.2K
Shares
चिच्चाएर वर माग्न सत्यवती मेलामा घुँइचो

पाल्पा मंसिर ५, २०७५ : नेपाल हरेक विविधताले भरिपूर्ण भएको मुलुक हो । यहाँको प्राकृतिक विविधता देखि कला संस्कृतिमा पनि विविधता रहेको छ । विगत सदियौंदेखि चल्दै आएको यही विविधतालाई अहिलेको पुस्ताले निरन्तरता दिइरहेका छन् । यसैबीच मुलुकमै कही नभएको र स्व:स्फूर्त लाग्ने चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती तालमा लाग्ने तीन दिने मेला आजदेखि सुरु भएको छ । तीन दिनसम्म लाग्ने मेलामा हजारौँको सहभागिता रहने गर्छ । मेला भर्न मुलुक र छिमेकी भारतबाट समेत दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । कात्तिके पूर्णिमाको तीन दिनअघि देखि नै पाल्पाको तिनाउ गाउँपालिका–४ को बीच घनाजंगलस्थित रहेको सत्यवती तालमा मेला लाग्ने पूरानो चलन छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत मस्याम गाविसको २४ माईल र दोभानको झुम्सा पानीमिलबाट दुई घण्टा ठाडो उकालो हिँडेर सत्यवती तालमा लागेको मेला हेर्न जाने गर्छन् । चिच्चाएर वर माग्ने र मागेको वर पूरा भएको जनविश्वासका आधारमा मेला भर्न मुलुकका विभिन्न भागका साथै भारतबाटसमेत दर्शनार्थीको भीड लागेको छ ।  मेलाका लागि तीन दिन तीन रात मानिसको घुँईचो लाग्छ ।

मनोकांँक्षा पुग्ने विश्वासले सत्यवती तालमा वर माग्ने र भाकल अनुसार पूजा दिने चलन छ । बांँस वा पातीको लिङ्गो लिएर जाने, त्यसलाई बोकेरै चिच्चाउँदै तालको वरीपरी तीन पटक घुमेर वर माग्ने गरिन्छ । आफुले लगेको लिंगोलाई गाडेर त्यसैको फेदमा पुजा गर्ने, वली चढाउने, परेवा उडाउने र पञ्चवलीसमेत लग्ने चलन छ । ताल छेउ र मन्दिरमा भाकल अनुसार बली दिने चलन छ । मन्दिर व्यवस्थापन समितिले आगामी दिनमा गुरुयोजना बनाउने र यहाँसम्म सहज पुग्ने वातावरण बनाउने जनाएको छ । वडाध्यक्ष तथा स्थानीय दानबहादुर गाहाले  धार्मिक तथा पर्यटकीय प्रवद्र्धनका लागि सहज बाटोको निर्माणका लासिग पहल भइरहेको बताउनुभयो ।

धार्मिक महत्व कै कारण पाल्पाका विभिन्न स्थान साथै छिमेकी जिल्ला रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौ लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यहा मेला भर्न र पुजाआजाको लागि आएका छन । यसको गुरुयोजना तयार गरेर व्यवस्थित गर्ने हो भने वर्षभरि नै धार्मिक तथा जैविक विविधता अध्ययन गर्ने पर्यटक भित्र्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij